राष्ट्रिय प्रजातन्त्र दिवस एवं दशौं निर्वाचन दिवसको अवसरमा कास्की कारागारमा फलफूल वितरण, कास्की कारागारबाट अझै १ सय ४३ कैदी फरार

-


     पोखरा क्लिक     
     फागुन ७ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ७ फागुन

आज फागुन ७ अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । उक्त दिवस तथा दशौं निर्वाचन दिवसको अवसरमा जिल्ला मूल समारोह समिति कास्की र प्रदेश निर्वाचन कार्यालय, पोखराको संयुक्त आयोजनामा आज (विहिबार) कास्की कारागारमा रहेका बन्दीहरूलाई फलफूल वितरण गरिएको छ । कास्की कारागारमा रहेका कैदी बन्दीहरुको बस्तु स्थिती बुझ्दै उक्त दिवसमा फलफुल वितरण गरिएको मुल समारोह समितिले पोखराक्लिकलाई जनाएको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले प्रजातन्त्रको सार्थक कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य आधार भएको उल्लेख गर्नुभयो । उहाँले लोकतान्त्रिक व्यवस्थामा प्रत्येक नागरिकको मताधिकार महत्वपूर्ण हुने बताउँदै कास्की कारागारमा रहेका कैदीबन्दीहरूको समेत मतदान अधिकार सुनिश्चित गरिएको जानकारी दिनुभयो । “निर्वाचनले नै जनताको सार्वभौम अधिकारको अभ्यास गराउँछ, त्यसैले सबैको सहभागिता सुनिश्चित हुनुपर्छ,” उहाँको भनाइ थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कारागारमा रहेका बन्दीहरूको गुनासो सुन्दै निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले लोकतान्त्रिक अभ्यासमा सबै तह र तप्काको सहकार्य आवश्यक रहने धारणा राख्नुभयो ।

कास्की कारागारका प्रशासक राजेन्द्र शर्माका अनुसार हाल कारागारमा ६ सय ८३ जना कैदीबन्दी रहेका छन् । जेन्जी आन्दोलनका क्रममा भागेकामध्ये अझै १ सय ४३ जना फर्किन बाँकी रहेको उहाँले जानकारी दिनुभयो। आन्दोलनका समयमा कारागारमा ७ सय ७३ जना बन्दी रहनु भएको थियो । हाल २९ जना महिला बन्दी रहेको उहाँले जनाउनु भयो । कास्की कारागारमा खानेपानीको समस्या, भवनहरु मर्मत संहार गर्नुपर्ने अबस्था रहेको कारागार प्रसासनले जनाएको छ ।

दशौं निर्वाचन दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमले लोकतान्त्रिक मूल्य–मान्यता र समावेशी सहभागिताको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ । कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल, सूचना अधिकारी रुद्र न्यौपाने, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल, जिल्ला समन्वय अधिकारी नवराज बराल, कास्कीका प्रहरी प्रमुख नविन कार्की, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु उपस्थिति रहेको थियो ।



This will close in 20 seconds