पोखरा म्याराथनको रजत महोत्सवमा स्व. शरदचन्द्रलाई मरणोपरान्त पुरस्कार अर्पण

-


     पोखरा क्लिक     
     वैशाख ८ गते २०८३ मा प्रकाशित


पोखरा, बैशाख ८,

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सव मनाएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाली खेलकुद क्षेत्रमा विशेष योगदान पु¥याएका स्वर्गीय शरदचन्द्र शाहलाई मरणोपरान्त राष्ट्रिय खेलकुद पुरस्कार प्रदान गरेर महोत्सव समापन गरिएको मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए ।

स्वर्गीय शाहाका परिवारलाई नगद १ लाखसहित पदक र सम्मानपत्रले सम्मान गरिएको अध्यक्ष गुरुङले खुलाए । शाहा परिवारको तर्फबाट शाहाकि श्रमती,रमा शाहा र छोरि मिमोहि शाहालाई पोखरा महानागरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेश खेलकुद परिषदका सदश सचिव श्रीधर शर्मा, मञ्चका संस्थापक खड्क रानाभाट, मञ्चका अध्यक्ष दिल बहादुर गुरुङ,रेस डाइरेक्टर तेज बहादुर गुरुङ, कार्यक्रम संयोजक हरिप्रसाद पराजुली लगाएतले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
स्वर्गीय शाहले २०३४ सालदेखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका रूपमा कार्य गर्दै नेपाली खेलकुदको विकासमा महत्वपूर्ण योगदान पु¥याएका थिए। उक्त अवधिलाई नेपाली खेलकुदको स्वर्ण युगका रूपमा समेत लिइन्छ।

उनले राष्ट्रिय खेलकुद प्रतियोगिता, नगर खेलकुद प्रतियोगिता तथा दक्षिण एसियाली खेलकुद प्रतियोगिताको परिकल्पना गरी खेलकुदलाई संस्थागत र चलायमान बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । राष्ट्रिय खेलकुद पुरस्कारको नगद राशि संस्थापक मञ्चका संस्थापक खड्क रानाभाटले आजीवन प्रायोजन गर्ने घोषणा गरेका थिए । अब उक्त पुरस्कार हरेक दुई वर्षमा वितरण गरिने छ । कार्यक्रममा २५ बर्ष देखि निरन्तर सहयोग गर्ने प्रायोजक,बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था,ब्यक्तिहरु सम्मान गरिएको सचिव महेश पौडेलले बताए ।

मञ्चले रजत बर्ष महोत्सवको अवसर पारेर १२ महिना १२ कार्यक्रम घोषणा गरेको थियो, सोहि अनुसार हाल सम्म १६ ओटा कार्यक्रम सम्पन्न भइसकेको मञ्चका रेस डाइरेक्टर तेज बहादुर गुरुङले बताए ।