
पोखरा ७, कार्तिक,
विश्वमा रहेका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरूको सफल आरोहण गरेका पोखराका तेजन गुरुङलाई पोखरामा विभिन्न संघ संस्थाहरुले सम्मान गरेका छन्।
पोखरामा क्रियाशील पर्यटन तथा उद्योगका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरुको आयोजना तथा पोखरा महानगरपालिकासँगको समन्वयमा एक कार्यक्रम गरी आरोही गुरुङलाई सम्मान गरिएको हो । उनलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्मान पत्रले सम्मान गर्नुभएको हो ।
गुरुङले २९ वर्षको उमेरमा विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरूको सफल आरोहण गरिसकेका छन् ।

यसैबिच, उनलाई द्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको समन्वय र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित एक कार्यक्रम बीच गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, जिटिन गण्डकीका अध्यक्ष किसमकुमारी गुरुङ, कार्यक्रम संयोजक एवं जिटिन गण्डकीका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङ लगायतले संयुक्त रुपमा आरोही गुरुङलाई सम्मान गरेका हुन्।
कार्यक्रममा मन्त्री बस्यालले गण्डकी प्रदेश पर्वतीय पर्यटनका धेरै सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसको प्रवद्र्धन र विकासमा सबैको सामूहिक प्रयास आवश्यक हुने बताए। कार्यक्रम संयोजक एवं जिटिन गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले तेजनले गरेको १४ वटा हिमालको आरोहण गण्डकी प्रदेशको मात्र नभई समग्र राष्ट्रको गौरव भएको बताए । त्यसै गरी पोखरा पर्यटन परिषद लगायतका विभिन्न संघ संस्थाले उहाँलाई सम्मान गरेको छ ।







