
काठमाडौँ–सांघाई–काठमाडौँ रुटमा हिमालय एअरलाइन्स्ले नियमित सीधा उडान पुनः सञ्चालन गरेको छ। एअरलाइन्स्ले सोमबार, सेप्टेम्बर २८, २०२६ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच सेवा सुरु गरेको हो। हिमालय एअरलाइन्स्को उडान एच९ ७९१ ले सेप्टेम्बर २८ साँझ काठमाडौँबाट उडान भरी सेप्टेम्बर २९ बिहान २ः३६ बजे सांघाई पुडोङ विमानस्थलमा अवतरण गरेको थियो। त्यसैगरी, एच९ ७९२ ले सेप्टेम्बर २९ बिहान ४ः३६ बजे सांघाईबाट उडान भरी बिहान ८ः१३ बजे काठमाडौँ अवतरण गरेको एअरलाइन्स्ले जनाएको छ।

प्रारम्भिक चरणमा यस रुटमा साप्ताहिक दुई उडान हुनेछन्। काठमाडौँबाट सोमबार र शुक्रबार तथा सांघाईबाट मंगलबार र शनिबार उडान सञ्चालन हुनेछ। यात्रुको माग र उडानको यात्रु भारका आधारमा भविष्यमा उडान संख्या थप गर्ने एअरलाइन्स्को भनाइ छ।एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौँ–सांघाई सीधा उडानले नेपाल–चीनबीच व्यापार, पर्यटन र जनस्तरको सम्पर्क थप मजबुत बनाउने बताए। उनका अनुसार नयाँ रुटले चीनबाट नेपाल आउने पर्यटक बढाउन तथा पर्यटन र आतिथ्य क्षेत्रमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। हिमालय एअरलाइन्स्ले यस रुटमा नियमित सीधा उडान सञ्चालन गर्ने एकमात्र नेपाली वायुसेवा कम्पनी भएको जनाएको छ।






