
पोखरा १३ असोज,
नेपालीहरूको महान पर्व दशैँलाई पर्यटनसँग जोड्दै आयोजना गर्न लागिएको ‘दशैँ पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३’ लाई सफल बनाउन पोखराका पर्यटनसम्बद्ध संघ–संस्थाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा हुने महोत्सवका विषयमा मंगलबार पोखरामा आयोजित छलफल कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले महोत्सवलाई एउटा संस्थाको मात्र कार्यक्रम नभई समग्र पोखराको पर्यटन क्षेत्रको साझा कार्यक्रमका रूपमा अपनत्व लिएर सफल बनाउनुपर्नेमा प्रतिवद्धता व्यक्त गरेका हुन् ।
‘टिका, जमरा र चङ्गा चेट–पोखरामा पर्यटकसँग दशैँ भेट’ भन्ने नारासहित आयोजना गर्न लागिएको महोत्सव कार्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन लेकसाइडस्थित बाराहीघाट मैदानमा हुने कार्यक्रम संयोजक उमा भण्डारीले जानकारी दिइन् । महोत्सवमार्फत पर्यटकलाई टीका तथा जमरा लगाइदिने, चङ्गा चेट प्रतियोगिता, विभिन्न जातजाति तथा समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, नेपाली मौलिक खाना र कला संस्कृतिको प्रदर्शन, परम्परागत सामग्रीका स्टल, स्थानीय उत्पादन तथा पर्यटनसम्बद्ध व्यवसायिक गतिविधिलाई समेटिने संयोजक भण्डारीले जानकारी दिइन । छलफलमा सहभागी पर्यटन व्यवसायीहरूले दशैँलाई नेपालीहरूको पारिवारिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र सीमित नराखी विदेशी तथा स्वदेशी पर्यटकलाई नेपाली संस्कृति, परम्परा, खानपान र जीवनशैलीको प्रत्यक्ष अनुभव गराउने पर्यटन उत्पादनका रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए ।
पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजलले यस्ता महोत्सवले पोखराको पर्यटनलाई संस्कृतिसँग जोड्ने राम्रो अवसर दिने बताए । “दशैं हाम्रो मौलिक संस्कृति र परम्परासँग जोडिएको पर्व हो। यसलाई पर्यटनसँग जोडेर देश–विदेशबाट आएका पर्यटकलाई हाम्रो संस्कृति अनुभव गराउन सकिन्छ ।” उनले भने “यो कुनै एउटा संस्थाले मात्रै आयोजना गरेको कार्यक्रम होइन , परिषद्सँग आबद्ध सबै सदस्य संस्था र पर्यटन क्षेत्रसँग सम्बन्धित सबै संस्थाले यसलाई साझा कार्यक्रमका रूपमा लिएर अगाडि बढ्नुपर्छ । ” उनले कार्यक्रम सफल हुनु भनेको समग्र पोखराको पर्यटन क्षेत्र सफल हुनु भएको जनाउँदै यसलाई सबैको साझा कार्यक्रमका रूपमा लिएर सफल बनाउनुपर्ने बताए । ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले यो महोत्सव एउटा कार्यक्रम मात्रै नभइ पोखराको संस्कृति र पहिचानलाई पर्यटकीय उत्पादनका रूपमा चिनाउने अवसर भएकाले सबैको हातेमालो आवश्यक रहेको बताइन ।
संस्थाका अध्यक्ष ममता न्यौपानले पोखराको प्राकृतिक सुन्दरतासँगै यहाँको कला, संस्कृति र परम्परालाई पनि पर्यटकीय उत्पादनका रूपमा अगाडि बढाउने उद्देश्य सहित एउटा प्रयास थालनी गरेको बताइन । “हामीले पर्यटकलाई पोखरा घुमाउने मात्रै होइन, पोखराको संस्कृति अनुभूति गराएर फर्काउने वातावरण बनाउनुपर्छ ।” न्यौपानेले यही माध्यमबाट नेपाली मौलिकता अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउन सकिने भन्दै सबैको साथको अपेक्षा गरेको बताइन । कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका प्रतिनिधिहरूल दशैँको सांस्कृतिक पक्षलाई पर्यटनसँग जोड्दा पोखराको पर्यटनमा थप विविधता र नयाँ आकर्षण थपिन सक्ने भन्दै महोत्सवा सफल बनाउन रचनात्मक सुझावहरु दिएको संस्थाका उपाध्यक्ष एवम कार्यक्रम संचालक लक्ष्मी लामिछाने जानकारी दिइन ।






