यू–१९ महिला विश्वकपको पोखरामा हुने बिषयमा अन्योलमा, काठमाडौंमै सीमित हुने शंकेत

-


     पोखरा क्लिक     
     असाेज १३ गते २०८३ मा प्रकाशित


पोखरा, असोज १३ ,

नेपालले सन् २०२७ मा सहआयोजना गर्ने तयारी गरेको आईसीसी यू–१९ महिला विश्वकपका खेल पोखरामा समेत हुने अपेक्षा गरिएको भए पनि आवश्यक क्रिकेट मैदान तथा पूर्वाधार निर्माणमा अपेक्षित प्रगति नहुँदा पोखराको आयोजनामाथि प्रश्न उठ्न थालेको छ। आईसीसीका प्रतिनिधिले सेप्टेम्बर २७ र २८ मा नेपाल भ्रमण गरी यू–१९ महिला विश्वकपको तयारी तथा पूर्वाधारको स्थलगत निरीक्षण गरेपछि पोखरामा प्रतियोगिता आयोजना हुने वा नहुने विषयमा चासो बढेको हो ।

नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आईसीसी प्रतिनिधिको भ्रमणलाई प्रतियोगिता तयारीको नियमित निरीक्षणका रूपमा व्याख्या गरेको छ। आईसीसीका महाप्रबन्धक–इभेन्ट्स एन्ड अपरेसन्स गौरव सक्सेनाले नेपालमा विश्वकप आयोजना गर्न पाउनु महत्वपूर्ण अवसर भएको बताउँदै तयारीको प्रगतिबारे आईसीसी टोलीले सम्बन्धित पक्षसँग विस्तृत छलफल गरेको जानकारी दिएका छन्। तर, पोखरामा विश्वकपका खेल सञ्चालनका लागि आवश्यक क्रिकेट मैदान तथा पूर्वाधार निर्माणको काम अपेक्षित रूपमा अघि बढ्न नसकेको अवस्थामा आईसीसीको निरीक्षणपछि प्रतियोगिता काठमाडौंमै केन्द्रित हुने हो कि भन्ने प्रश्न उठेको छ। विशेषगरी पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण तथा स्तरोन्नतिका लागि स्थानीय तहबाट पर्याप्त चासो र सक्रियता नदेखिएको गुनासो क्रिकेट क्षेत्रबाट आउन थालेको छ। मैदान निर्माणको काम समयमै अघि बढ्न नसके पोखराले अन्तर्राष्ट्रियस्तरको ठूलो प्रतियोगिता आयोजना गर्ने अवसर गुमाउन सक्ने चिन्ता सरोकारवालाको छ।

नेपालले पहिलोपटक आईसीसी यू–१९ महिला विश्वकप सहआयोजना गर्ने तयारी गरिरहेकाले प्रतियोगिताका लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्डका पूर्वाधार समयमै तयार गर्नु चुनौतीपूर्ण विषय बनेको छ। आईसीसीको निरीक्षण टोलीले पनि प्रतियोगिता सफल आयोजनाका लागि आवश्यक विभिन्न पक्षको समीक्षा गरेको क्यानले जनाएको छ। आईसीसीका महाप्रबन्धक सक्सेनाले निरीक्षणपछि नेपालमा भइरहेको तयारीको प्रगति तथा प्रतियोगिता आयोजनासँग सम्बन्धित विभिन्न पक्षबारे छलफल गरिएको बताएका छन्। उनले आगामी महिनामा क्यानसँग नजिकबाट सहकार्य गर्दै प्रतियोगितालाई सफल र स्मरणीय बनाउन काम अघि बढाउने बताएका छन्।

नेपालमा यू–१९ महिला विश्वकप आयोजना हुनु नेपाली महिला क्रिकेटका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। त्यसमाथि पोखरामा खेल सञ्चालन हुन सके यसले महिला क्रिकेटसँगै खेल पर्यटन, स्थानीय अर्थतन्त्र र पोखराको अन्तर्राष्ट्रिय खेल गन्तव्यको पहिचानलाई समेत थप बलियो बनाउन सक्ने अपेक्षा गरिएको छ। तर त्यसका लागि पोखरामा आवश्यक क्रिकेट पूर्वाधार समयमै तयार हुनु अनिवार्य छ। अहिलेको अवस्थामा मुख्य प्रश्न भने यही बनेको छ—आईसीसी यू–१९ महिला विश्वकपका खेल पोखरामा पनि हुनेछन्, वा आवश्यक पूर्वाधार तयार हुन नसके प्रतियोगिता काठमाडौंमै सीमित हुनेछ, यस विषयमा नेपाल क्रिकेट सङ्घ, गण्डकी प्रदेश क्रिकेट सङ्घ तथा सम्बन्धित स्थानीय तहबाट स्पष्ट धारणा आउन बाँकी छ। आईसीसीको पछिल्लो निरीक्षणपछि पोखराको क्रिकेट मैदान निर्माणले गति लिन्छ वा पोखराको विश्वकप आयोजना योजनाबाट बाहिरिन्छ भन्ने विषय आगामी दिनमा थप स्पष्ट हुने देखिन्छ।

आईसीसीको प्रतिनिधिमण्डलको नेपाल भ्रमणले प्रतियोगिता आयोजनाका लागि पूर्वाधार तयारीलाई थप गम्भीरतापूर्वक अघि बढाउनुपर्ने सन्देश दिएको छ। अब पोखरामा विश्वकपका खेल आयोजना गर्ने हो भने मैदान निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने देखिन्छ। यस अघि खेलकुद मन्त्री देखि प्रदेश सरकार, स्थतानिय सरकारले आवश्यक भौतिक संरचना निर्माणमा सहयोग गर्ने बचन दिए पनि अन्तत् यस बिषयमा हाल मौन छन् ।