पोखरामा आज भुटान र गण्डकीबीच क्रिकेट अभ्यास खेल हुँदै

-


     पोखरा क्लिक     
     असाेज १३ गते २०८३ मा प्रकाशित


पोखरा, असोज १३,

विश्व पर्यटन दिवसको अवसर पारेर पोखरा आएका भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज ९सेप्टेम्बर २९० गण्डकी प्रदेश क्रिकेट टोलीसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ। पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेपछि सुरु हुनेछ। आगामी आइसिसी मेन्स टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि भुटानी टोली अभ्यास खेल खेल्न पोखरा आएको हो।

मलेसियामा अक्टोबर ३ देखि सुरु हुने प्रतियोगिताको तयारीस्वरूप भुटानले पोखरालाई अभ्यास गन्तव्यका रूपमा छनोट गरेको हो। नेपाल क्रिकेट सङ्घ ९क्यान० को सहयोग तथा गण्डकी प्रदेश क्रिकेट सङ्घको आयोजनामा भुटानी टोलीले पोखरामा चारवटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । तालिकाअनुसार भुटानले आज असोज १३ गते गण्डकी प्रदेश क्रिकेट टोलीसँग पहिलो अभ्यास खेल खेल्नेछ। त्यसपछि असोज १४ गते पनि गण्डकीसँग अर्को खेल हुनेछ। असोज १५ र १६ गते भने भुटानी टोलीले क्यान–११ सँग अभ्यास खेल खेल्नेछ। सबै खेल पोखरा क्रिकेट मैदानमै आयोजना हुनेछन्। विश्व पर्यटन दिवसका अवसरमा भुटानको राष्ट्रिय क्रिकेट टोली र गण्डकी प्रदेशबीच हुने आजको खेललाई पोखराको क्रिकेट र पर्यटनलाई जोड्ने विशेष अवसरका रूपमा हेरिएको छ। खेल हेर्न स्थानीय क्रिकेटप्रेमी तथा खेल पर्यटनमा रुचि राख्ने दर्शकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ।

अध्यक्ष सिग्देलले पोखराको क्रिकेट पूर्वाधार, खेलकुद गतिविधि र पर्यटनबीचको सम्बन्धलाई थप बलियो बनाउन भुटानी टोलीको भ्रमण महत्वपूर्ण हुने बताए । “पोखराको क्रिकेट पूर्वाधार, खेलकुद गतिविधि तथा पर्यटनबीचको सम्बन्धलाई थप मजबुत बनाउन यो अभ्यास खेल महत्वपूर्ण हुनेछ,” उनले भने। गण्डकी प्रदेश क्रिकेट सङ्घका सचिव सुमनराज कार्कीले भुटानको राष्ट्रिय टोलीको पोखरा भ्रमणले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिको केन्द्रका रूपमा विकास गर्ने अभियानमा सहयोग पुग्ने बताए। “भुटानको राष्ट्रिय टोलीको पोखरा भ्रमणबाट खेल पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय खेलकुद सम्बन्ध विस्तार तथा पोखराको राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउन योगदान पुग्ने विश्वास लिएका छौँ,” कार्कीले भने, “यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि नियमित रूपमा आयोजना गर्ने वातावरण निर्माण हुनेछ।” भुटानी राष्ट्रिय टोलीको पोखरा आगमनले अन्तर्राष्ट्रिय टोलीलाई अभ्यासका लागि पोखराको क्रिकेट मैदान प्रयोग गर्ने वातावरणसमेत थप बलियो बनाउने अपेक्षा गरिएको छ। यसले पोखरामा क्रिकेट गतिविधि विस्तारसँगै खेल पर्यटनलाई प्रवर्द्धन गर्न टेवा पुग्ने आयोजकको विश्वास छ।