‘गुटको होइन, कांग्रेसको विचार बोकेर मैदानमा छु’ मौसम कार्की

-


     पोखरा क्लिक     
     असाेज १२ गते २०८३ मा प्रकाशित


पोखरा,

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं.३ मा भोलि असोज १३ गते हुने अधिवेशनको पूर्वसन्ध्यामा युवा नेता मौसम कार्कीले कुनै समूह वा गुटको उम्मेदवार नभई स्वतन्त्र ढंगले प्रतिस्पर्धामा उत्रिएको बताएका छन्। आइतबार आयोजित उद्घाटन तथा उम्मेदवारी दर्ता कार्यक्रमसँगै कार्कीले क्षेत्रीय प्रतिनिधिहरूसँग भेटघाट र संवाद तीव्र बनाएका छन्।

मतदातासँगको भेटमा उनले गुटगत समीकरणभन्दा क्षमता, योगदान, विचार र स्वच्छ प्रतिस्पर्धालाई आफ्नो उम्मेदवारीको आधार बनाएको बताएका हुन्। “म पार्टीभित्र छु, तर गुटको उम्मेदवार होइन। मेरो प्रतिबद्धता कांग्रेसको विचार, संगठन र कार्यकर्ताप्रति हो,” कार्कीले प्रतिनिधिहरूसँगको संवादमा भनेका छन्। उनले अवसर र जिम्मेवारी व्यक्तिगत निकटताका आधारमा नभई संगठनमा गरेको योगदान र काम गर्न सक्ने क्षमताका आधारमा तय हुनुपर्ने धारणा राखेका छन्।

कार्कीले पछिल्लो समय युवा पुस्ताबाट उठेका परिवर्तन, सुशासन, जवाफदेहिता र नयाँ राजनीतिक संस्कृतिको अपेक्षालाई दलहरूले गम्भीरतापूर्वक बुझ्नुपर्ने बताएका छन्। महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए क्षेत्रका कार्यकर्ताको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म स्पष्ट र प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्। कांग्रेसले १५औँ महाधिवेशनको औपचारिक प्रक्रिया अघि बढाइसकेको छ भने सभापति गगनकुमार थापाको संयोजकत्वमा केन्द्रीय निर्देशन समितिसहित महाधिवेशन व्यवस्थापनका विभिन्न समिति गठन भएका छन्। गुटको पहिचानभन्दा आफ्नो विचार, सक्रियता र प्रत्यक्ष संवादलाई अघि सारेका कार्की अब भोलिको निर्वाचनमा क्षेत्रीय प्रतिनिधिको मत खोज्दै मैदानमा उत्रिएका छन्।