सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको २०औँ साधारणसभा सम्पन्न

-


     पोखरा क्लिक     
     असाेज १२ गते २०८३ मा प्रकाशित


पोखरा,

समुदायको विकास र सहभागितालाई मुख्य उद्देश्य बनाएर स्थापना भएको सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले स्थापना कालदेखि नै सदस्यहरूको आर्थिक सहभागितामार्फत वित्तीय कारोबार सञ्चालन गर्दै आउनुका साथै रेडियो सराङकोट, सामाजिक सेवा तथा विभिन्न सामुदायिक गतिविधिमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ।

साधारणसभाको शुभारम्भ गर्दै संस्थाका सल्लाहकार तथा भागवत भाष्कर कमल नयन गौतमले विभिन्न परिस्थितिका बीच पनि संस्थालाई निरन्तर र जिम्मेवारीपूर्वक सञ्चालन गर्न सक्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले सहकारीको दिगो विकासका लागि सदस्यहरूको सक्रिय सहभागिता र संस्थाप्रतिको विश्वास आवश्यक रहेको धारणा राख्नुभयो। सभाका अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने सदस्य तथा कर्मचारीलाई सम्मान गरेको थियो। ज्येष्ठ सदस्य तीर्थमान प्रदङ्ग, रेडियो सराङकोटका समाचार प्रमुख कमल पौडेल ‘अथक’, असल सदस्य कारोबारी बालकृष्ण बराल, शर्मिला जिसी, वर्ष उत्कृष्ट कर्मचारी पवन श्रेष्ठ तथा उत्कृष्ट विद्यार्थी अमृत पोखरेललगायतलाई संस्थागत सम्मान गरिएको थियो। कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार कृष्णबहादुर थापाले संस्थाको स्थापनादेखि वर्तमान अवस्थासम्म आइपुग्दा संस्थाले निर्वाह गरेको सक्रिय भूमिका र योगदानबारे आफ्नो धारणा राख्नुभयो।

संस्थाका अध्यक्ष शिवबहादुर बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वअध्यक्ष प्रेमबहादुर जिसी, सुशीलराज पराजुली, सल्लाहकारहरू शोभियतबहादुर अधिकारी तथा इन्द्रकमल मानन्धरलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँहरूले संस्थाको उद्देश्य प्राप्तिका लागि सम्पूर्ण सदस्यहरू सक्रिय रूपमा सहभागी हुनुपर्नेमा जोड दिनुभयो। साधारणसभामा संस्थाका सचिव जयराम पौडेल, कोषाध्यक्ष शिवबहादुर थापा, लेखा समिति संयोजक कुलप्रसाद सुवेदी, कर्जा असुली संयोजक तथा उपाध्यक्ष राममणि पौडेल र व्यवस्थापक सुरेन्द्र थापाले प्रस्तुत गर्नुभएको विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो।

६०० भन्दा बढी सदस्य रहेको संस्थाले चालु वर्षमा १ अर्ब ६८ लाख रुपैयाँभन्दा बढीको कुल कारोबार, १ अर्ब ६७ लाख रुपैयाँ बचत फिर्ता, ४८ करोड रुपैयाँ कर्जा लगानी तथा ४ करोड ३६ लाख रुपैयाँ शेयर पूँजी कायम गरेको व्यवस्थापक सुरेन्द्र थापाले जानकारी दिनुभयो।साधारणसभाले संस्थाको आगामी कार्यदिशा, सदस्य सहभागिता, वित्तीय अनुशासन तथा सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउँदै सहकारीलाई समुदायसँग अझ नजिकबाट जोडेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।