महाधिवेशन प्रतिनिधिमा गोकर्ण कार्कीको उम्मेदवारी, सुशासन र आर्थिक पारदर्शितालाई प्राथमिकता

-


     पोखरा क्लिक     
     असाेज ११ गते २०८३ मा प्रकाशित


पोखरा,

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि खुलातर्फ गोकर्ण कार्कीले उम्मेदवारी प्रस्तुत गरेका छन्। व्यवसायी तथा विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका कार्कीले आफ्नो अनुभवलाई पार्टी संगठन र समग्र राजनीतिक रूपान्तरणमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्कीले आफू कुनै गुटको पक्षमा नभई पार्टीको चारतारे झण्डा र रुख चिन्हप्रति प्रतिबद्ध रहेको बताएका छन्। उनले सुशासन, भ्रष्टाचारमुक्त समाज र आर्थिक पारदर्शितालाई आफ्नो प्राथमिक एजेन्डाका रूपमा अघि सारेका छन् । उनका प्रमुख एजेन्डामा हिन्दु धर्मको संरक्षण तथा संवैधानिक राजतन्त्र, संघीयताको खारेजीसँगै विकास र पूर्वाधार निर्माण, एक व्यक्ति–एक पद र बढीमा दुई कार्यकालको व्यवस्था लगायतका विषय छन्। पार्टीका पदाधिकारी तथा जिम्मेवारीमा रहने व्यक्तिहरूले तीनै तहका सरकारमा उम्मेदवारी नदिने व्यवस्था गर्नुपर्ने धारणा पनि उनले अघि सारेका छन्। आर्थिक विकासतर्फ कृषि, उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासमार्फत आर्थिक उन्नति हासिल गर्नुपर्नेमा कार्कीको जोड छ। उद्यमशीलताको विकास, रोजगारी वृद्धि र निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने उनको धारणा छ।

व्यवसायिक क्षेत्रमा समेत सक्रिय कार्कीले विभिन्न संघ–संस्थामा नेतृत्वदायी जिम्मेवारी सम्हाल्दै प्राप्त गरेको अनुभवलाई अब पार्टी संगठनमा उपयोग गर्ने बताएका छन्। व्यवसायी समुदायको नेतृत्व र व्यवस्थापनको अनुभवसँगै संगठन सञ्चालनको व्यावहारिक ज्ञान बोकेका कार्कीले पार्टीमा नयाँ ऊर्जा, पारदर्शिता र परिणाममुखी कार्यशैली आवश्यक रहेकोमा जोड दिएका छन्। उनले पार्टीभित्र विचार, नीति र सिद्धान्तलाई प्राथमिकता दिँदै व्यक्तिगत गुटभन्दा माथि उठेर संगठनलाई बलियो बनाउनुपर्ने धारणा राखेका छन्।