कांग्रेसमा गुटभन्दा क्षमता र स्वच्छ प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने युवा नेता मौसम कार्कीको जोड

-


     पोखरा क्लिक     
     असाेज ११ गते २०८३ मा प्रकाशित


पोखरा,

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढेसँगै पार्टीभित्र नेतृत्व, संगठन निर्माण र नयाँ पुस्ताको भूमिकाबारे बहससमेत तीव्र बनेको छ। यही क्रममा नेपाली कांग्रेसका युवा नेता मौसम कार्कीले पार्टीभित्र गुटगत प्रभावभन्दा स्वच्छ प्रतिस्पर्धा, क्षमता र योगदानका आधारमा नेतृत्व चयन हुनुपर्ने धारणा अघि सारेका छन्।

माछापुच्छ्रे गाउँपालिकाबाट क्षेत्रीय प्रतिनिधिका रूपमा प्रतिनिधित्व गरिरहेका कार्कीले कांग्रेसका विभिन्न फोरम तथा कार्यक्रममा पार्टीभित्र गुट, नातावाद र कृपावादभन्दा योग्य तथा सक्रिय कार्यकर्तालाई अवसर दिनुपर्ने विषय उठाउँदै आएका छन्। कार्कीका अनुसार पार्टीमा कुनै नेतासँगको व्यक्तिगत निकटता वा सम्बन्धका आधारमा अवसर र जिम्मेवारी प्राप्त गर्ने प्रवृत्तिभन्दा काम गर्न सक्ने, संगठन बुझ्ने, विचार राख्न सक्ने र जनतासँग जोडिन सक्ने नयाँ पुस्तालाई अघि बढाउने वातावरण निर्माण आवश्यक छ। उनले कांग्रेसको संगठन बलियो बन्न केन्द्रमा मात्र नेतृत्व प्रभावकारी भएर नपुग्ने बताउँदै गाउँरनगर, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मका सबै तहका संगठन सक्रिय र जिम्मेवार हुनुपर्ने धारणा राखेका छन्।

“पार्टीभित्र गुट होइन, स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ। क्षमता, योगदान र काम गर्न सक्ने आधारमा युवालाई अवसर दिनुपर्छ,” कार्कीको जोड छ।
उनको भनाइमा पार्टीका विभिन्न तहमा रहेका नेतृत्वले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सके मात्र संगठन बलियो बन्न सक्छ। केन्द्रको नेतृत्वसँगै स्थानीय तहदेखि प्रदेशसम्मका कमिटीहरू सक्रिय हुनु आवश्यक रहेको उनको तर्क छ। कार्कीले कांग्रेसको इतिहासमा विभिन्न राजनीतिक तथा राष्ट्रिय संकटका समयमा पार्टीले निर्वाह गरेको भूमिकालाई स्मरण गर्दै अब त्यसको विरासतलाई नयाँ पुस्ताको ऊर्जा, प्रविधि, क्षमता र कार्यशैलीसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका छन्। युवा पुस्ताको सहभागिता र संगठनभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने विषयमा कार्कीले राख्दै आएको विचार अहिलेको महाधिवेशन प्रक्रियासँग जोडिएको देखिन्छ। कांग्रेस सभापति गगन थापाले पनि १५औँ महाधिवेशनमा सबै नेता–कार्यकर्ताले सहभागी भएर प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्न पाउने बताएका छन्। १५औँ महाधिवेशनका लागि मुख्य व्यवस्थापन समिति सभापति गगन थापाको अध्यक्षतामा गठन गरिएको छ र कांग्रेसले महाधिवेशन प्रक्रियालाई अघि बढाइरहेको छ।