
दीननाथ बराल,
पोखरा, ८ असोज,
नेपाल हवाई खेलकुद संस्था (ना) को आज विहिबार पोखरामा सम्पन्न भएको २३ औँ साधारण सभा तथा ११औँ अधिवेशनले दुई वर्षे कार्यकालका लागि माधव तिवारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । अध्यक्ष पदमा तिवारीले दुई अध्यक्षका प्रत्यासीलाई पछि पार्दै विजयी हुनु भएको हो ।

अध्यक्ष तिवारीले १३६ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका प्रतिस्पर्धी सानुबाबु सुनुवारले १२३ र खेमराज आचार्यले भने १४ मत प्राप्त गर्नु भएको श्रोतले पोखराक्लिकलाई जनायो । निर्वाचित अध्यक्ष तिवारीले पोखराको प्याराग्लाईडिङलाई व्यबस्थित र मर्यादित पेशाको रुपमा बनाउन बिषेश भुमिका खेल्ने जनाउनु भयो । सबैलाई मिलायर संस्थाको नेतृत्व गर्ने उहाँले बताउनु भयो ।

त्यसै गरी ना को प्रथम उपाध्यक्षमा विजय गौतम १६६ मतसहित निर्वाचित हुनु भयो । उहाँका प्रतिस्पर्धी नारायण पराजुलीले १०६ मत प्राप्त गर्नुभयो । महासचिवमा रोशन गौतम १९२ मतसहित निर्वाचित हुँदा कमला नेपालीले ७८ मत प्राप्त गर्नुभयो । त्यस्तै, सचिवमा शर्मिला शर्मा १६० मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी भुवन गाहाले ११६ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा रामचन्द्र सुवेदी ‘राजु’ १३१ मतसहित निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी सुरेश कुमार श्रेष्ठले ८४ र कोषाध्यक्षका अर्का प्रत्यासी रेशमबहादुर थापाले ५१ मत प्राप्त गर्नुभयो ।

प्राविधिक उपाध्यक्षमा सुरेश थापा निर्विरोध निर्वाचित हुनु भयो । सदस्यमा अमित थापा, लक्ष्मण कुँवर, प्रकाश भुजेल, युवराज गौतम, रेवतीरमण पराजुली, रविन अधिकारी र दीपक थापा निर्वाचित भएका छन् । संस्थाको निवर्तमान अध्यक्षमा अनिल केसी रहनु भएको छ । यसैबीच, उक्त कार्यक्रमको बुधबार उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्याराग्लाइडिङ पोखराको पहिचान बनिसकेकाले यसको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।




