
पोखरा,
विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय, कास्कीको आयोजनामा पोखरा रङ्गशालामा हुने ९औँ विश्वकर्मा कप–२०८३ वार्डस्तरीय खुला भलिबल प्रतियोगिता को तयारी अन्तिम चरणमा पुगेको छ। विश्वकर्मा पूजाको अवसर पारेर असोज १, २ र ३ गते आयोजना हुने प्रतियोगितामा देशका विभिन्न स्थानबाट १८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत सामाजिक सद्भाव र एकता कायम गर्नुका साथै युवापुस्तालाई खेलकुदमा प्रोत्साहित गर्ने रहेको आयोजकले जनाएको छ। प्रतियोगिताबाट संकलित रकमको केही हिस्सा भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यसमेत राखिएको विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय, कास्कीका अध्यक्ष बेलबहादुर विश्वकर्माले जानकारी दिए। अध्यक्ष विश्वकर्माका अनुसार विगतका आठौँ संस्करणसम्म विभिन्न स्थानमा सीमित स्वरूपमा आयोजना हुँदै आएको विश्वकर्मा कपलाई यस वर्षदेखि वार्डस्तरीय खुला प्रतियोगिताका रूपमा विस्तार गरिएको हो। आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित, सशक्त र स्तरीय बनाउँदै राष्ट्रियस्तरको प्रतियोगिताको मोडालिटीमा विकास गर्ने लक्ष्य रहेको उनले बताए। ‘खेलकुद युवाको प्रतिभा प्रस्फुटन गर्ने माध्यम मात्र नभई सामाजिक एकता र सद्भाव मजबुत बनाउने महत्वपूर्ण आधार पनि हो,’ अध्यक्ष विश्वकर्माले भने, ‘विश्वकर्मा कपलाई आगामी दिनमा अझ व्यवस्थित र स्तरीय बनाउँदै राष्ट्रियस्तरमा स्थापित गर्ने हाम्रो लक्ष्य छ।’ प्रतियोगिताको विजेता टोलीले रु। १ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले रु। ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टोलीले रु। २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई रु। ३ हजार तथा बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट लिबेरो, बेस्ट ब्लकर र बेस्ट कोचलाई जनही रु। २ हजार नगद पुरस्कार प्रदान गरिने खेलकुद संयोजक पिताम्बर सुनारले जानकारी दिए। वार्डस्तरीय खुला प्रतियोगिता भएकाले देशका विभिन्न स्थानका उत्कृष्ट टोली तथा खेलाडीको सहभागिता रहने र प्रतियोगिता प्रतिस्पर्धात्मक एवं रोमाञ्चक हुने संयोजक सुनारले बताए। उनका अनुसार प्रतियोगिताले नयाँ तथा प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसरसमेत प्रदान गर्नेछ। प्रतियोगितालाई सफल बनाउन इवान मार्स कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रायोजकका रूपमा रहेको छ। गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका प्रवर्द्धक, हैनास गाउँपालिका सहयोगी तथा अन्नपूर्ण अस्पताल एण्ड ट्रमा सेन्टर, पोखरा अस्पताल पार्टनरका रूपमा रहेका छन्। त्यस्तै, परिचय एड्भर्टाइजिङ र टाइम्स पार्टी डटकम मिडिया पार्टनरका रूपमा रहेका छन्। आयोजकका अनुसार प्रतियोगिता खेलकुदमा सीमित नभई ८समानता, सामाजिक सद्भाव, सामुदायिक एकता र युवाको सकारात्मक सहभागितालाई प्रवर्द्धन गर्ने अभियान८का रूपमा अघि बढाइनेछ। खेलकुदको माध्यमबाट अझ समुन्नत, सुसंस्कृत र सद्भावयुक्त समाज निर्माणमा योगदान पुर्याउने आयोजकको विश्वास छ।



