बाढी प्रभावितको उद्धार तथा पुनःस्थापनाका लागि सुनचाँदी व्यवसायी संघ कास्कीको १२ लाख भन्दा बढी सहयोग

-


     पोखरा क्लिक     
     भाद्र २५ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २५, भदौ ,

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सुनचाँदी व्यवसायी संघ कास्कीले १२ लाख ५६ हजार ७ सय ९१ रुपैयाँ सहयोग गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा हुने गरी संघ कास्कीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । संघ कास्कीका अध्यक्ष भविन्द्र विश्वकर्माले महासंघका प्रथम उपाध्यक्ष (कार्यवाहक अध्यक्ष) धर्मसुन्दर बज्राचार्यलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

संघ कास्कीमा आबद्ध करिब ५ सय सुनचाँदी व्यवसायीमध्ये १ सय ९९ व्यवसायीबाट रकम संकलन गरी सहयोग गरिएको अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार विपद्का बेला व्यवसायिक संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्छ भन्ने भावनासहित व्यवसायीबाट रकम संकलन गरिएको हो । “देशमा ठूलो विपद् परेको अवस्थामा पीडितको उद्धार र राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै हाम्रो तर्फबाट पनि सानो भए पनि सहयोग गरेका हौँ,” अध्यक्ष विश्वकर्माले भन्नुभयो । संघमा आबद्ध केही व्यवसायीले भने संघको सामूहिक सहयोगबाहेक पनि स्वस्फूर्त रूपमा आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रकम जम्मा गरिरहेको संघ कास्कीका कार्यालय सचिव अक्षयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच, नेपाल सुनचाँदी व्यवसायी महासंघले पनि बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । महासंघमा देशभरका जिल्ला तथा नगर संघ गरी करिब ८० वटा शाखा आबद्ध छन् । विपद्का समयमा देशभरका सुनचाँदी व्यवसायीलाई राहत तथा उद्धार अभियानमा सहभागी गराउँदै महासंघ र मातहतका संघहरूले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको संघ कास्कीका सदस्य बाबुराम सु्नारले बताउनु भयो ।