
पोखरा,
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) ले १ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ। वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उक्त रकम बराबरको चेक कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गर्नु भएको हो । बाढी प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने गरी उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने प्रजिअ गुरुङले बताउनु भयो ।
चेक हस्तान्तरण गर्दै अध्यक्ष कोइरालाले प्राकृतिक विपत्तिका बेला प्रभावित नागरिकको साथमा उभिनु निजी क्षेत्रको सामाजिक दायित्व भएको बताउनुभयो। व्यवसायसँगै मानवीय सेवामा समेत निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले विपत्तिमा परेका नागरिकलाई सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। विपत्तिमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै व्यवसायीहरूले आफ्नो क्षमताअनुसार सहयोग गरेको वाडाका कोषाध्यक्ष अशोक चालिसेले बताउनु भयो । उहाँले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगका कार्यलाई निरन्तरता दिने बताउनुभयो। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विपत्तिको समयमा अटोमोबाइल व्यवसायीहरूले देखाएको मानवीय भावना प्रशंसनीय रहेको बताउनुभयो।




