राहत र उद्धारका लागि ७० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थासँग सहयोग मागिएको छ ः अध्यक्ष श्रेष्ठ, लक्ष्मी बिद्या पदकबाट ३ जना सम्मानित, राहत कोषमा २ लाख ५१ हजार सहयोग (भिडियो सहित)

-


     पोखरा क्लिक     
     भाद्र २० गते २०८३ मा प्रकाशित


दीननाथ बराल

पोखरा, २० भदौ,

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि राज्यलाई ठूलो आर्थिक स्रोत आवश्यक रहेको बताएका छन् । उनले विपत्तिपछि उत्पन्न संकट सामना गर्न महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट सहयोग जुटाउने पहल थालेको जानकारी दिए ।

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक साधारणसभाको शनिबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय क्षेत्रका ७० भन्दा बढी संघसंस्था तथा निकायलाई सहयोगको आग्रह गर्दै पत्राचार गरिसकेको बताए । विदेशमा रहेका उद्योग वाणिज्य संघहरूसँग समेत सहयोगका लागि आग्रह गरिएको उनको भनाइ थियो ।

“देशमा ठूलो विपत्ति परेको छ । यस्तो अवस्थामा व्यवसायी तथा निजी क्षेत्रले मानवीय भावनाका साथ खुलेर सहयोग गर्नुपर्छ,” उनले भने, “विपत्तिको समयमा निजी क्षेत्र सरकारसँगै उभिन तयार छ ।” भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र उद्धारमा निजी क्षेत्रले विगतदेखि गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि श्रेष्ठले व्यक्त गरे । उनका अनुसार पछिल्लो विपत्तिबाट भएको जनधनको क्षति गम्भीर छ र त्यसबाट मुलुकलाई माथि उठाउन राज्यलाई कम्तीमा ५ खर्ब रुपैयाँभन्दा बढी स्रोत आवश्यक पर्ने अवस्था देखिएको छ ।

जलवायु परिवर्तन र वातावरणीय असन्तुलनका कारण नेपालमा प्राकृतिक विपद्को जोखिम बढ्दै गएको भन्दै श्रेष्ठले दीर्घकालीन रूपमा विपद् न्यूनीकरणका लागि पूर्वतयारी र योजनाबद्ध विकासमा जोड दिए । नदी तथा खोला किनारमा बढ्दो अव्यवस्थित बस्ती, हिमताल विस्फोटलगायतका सम्भावित जोखिमलाई समयमै पहिचान गरी आवश्यक तयारी गर्नुपर्ने उनले बताए । चीनतर्फ रहेका हिमताल फुट्दा समेत नेपालमा ठूलो क्षति हुनसक्ने सम्भावना रहेको उल्लेख गर्दै उनले यस्ता जोखिमबारे सरकारले समयमै अध्ययन, पूर्वानुमान र पूर्वतयारीका कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखे ।

महासंघ अध्यक्ष श्रेष्ठले निजी क्षेत्र अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै व्यवसायीलाई निरुत्साहित गर्नेभन्दा उद्योग तथा लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे । निजी क्षेत्रले राज्यका कानुन तथा नीति पालना गर्दै सुशासनमा विश्वास गर्ने भएकाले सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उनले बताए । “निजी क्षेत्रलाई केवल साक्षी बनाएर देशको आर्थिक विकास सम्भव हुँदैन,” श्रेष्ठले भने, “औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रलाई थप प्रोत्साहन गर्नुपर्छ ।” नेपालको अर्थतन्त्रमा परनिर्भरता बढ्दै गएको भन्दै उनले स्वदेशमै उत्पादन र रोजगारीका अवसर विस्तार गर्ने गरी औद्योगिक विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।

पोखरामा भारतीय पर्यटकको आगमन बढिरहेको उल्लेख गर्दै श्रेष्ठले पर्यटकको बसाइ लम्ब्याउने गरी आवश्यक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए । त्यस्तै, चीनसँग जोडिएको कोरोला नाकाको सम्भाव्यता अध्ययन गरी व्यापार तथा पर्यटन गतिविधिका लागि प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए । संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, नेपाल पर्यटन बोर्डका केन्द्रीय सदस्य सन्तोष पोखरेल, गण्डकी प्रेस रजिष्टार विमला भण्डारी, नेपाल उद्योग बाणिज्य महासंघ गण्डकीका अध्यक्ष नरेश कंडेल लगायतले विपत्तिको समयमा राहत तथा उद्धारका लागि सबै क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका थिए । महाधिवेशनको उद्घाटन सत्र वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै समापन गरेका थिए । संघमा हाल २ हजार ७ सय ३१ सदस्य आबद्ध रहेको महासचिव शोभा गौतमले बताइन् । पशुपति क्षेत्र विकास समितिका सदस्य सचिव संस्कृतिकर्मी तिर्थ श्रेष्ठलाई सम्मान गरिएको छ ।

राहत कोषमा २ लाख ५१ हजार सहयोग

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पोखरा उद्योग वाणिज्य संघले २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।संघका अध्यक्ष गोकर्ण कार्कीले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । महासंघले स्थापना गरेको केन्द्रीय राहत कोषमार्फत बाढी प्रभावित क्षेत्रका पीडितसम्म सहयोग पु¥याउने उद्देश्यले रकम उपलब्ध गराइएको संघले जनाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको उपस्थितिमा चेक हस्तान्तरण गरिएको थियो । अध्यक्ष कार्कीले विपत्तिको यस घडीमा उद्योगी–व्यवसायीका तर्फबाट सानो भए पनि सहयोग गर्ने उद्देश्यले राहत रकम उपलब्ध गराइएको बताए ।

तीन विद्यार्थीलाई लक्ष्मी विद्या पदक

महाधिवेशन तथा साधारणसभाको अवसरमा कास्कीका तीन उत्कृष्ट विद्यार्थीलाई ‘लक्ष्मी विद्या पदक–२०८२’ प्रदान गरिएको छ । व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तथा स्नातक तहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पदक, नगद पुरस्कारसहित सम्मान गरिएको संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् ।

एमबीएतर्फ जनप्रिय बहुमुखी क्याम्पसकी ज्योति तामाङ, बीबीएतर्फ पोखरा कलेज अफ म्यानेजमेन्टकी समीक्षा तिमिल्सिना र बीबीएसतर्फ जनप्रिय बहुमुखी क्याम्पसका सन्तोष थापा सम्मानित भएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले विद्यार्थीलाई पदक तथा पुरस्कार प्रदान गरेका थिए । स्नातकोत्तर तहमा उत्कृष्ट हुने विद्यार्थीलाई २५ हजार रुपैयाँ तथा स्नातक तहमा उत्कृष्ट हुने विद्यार्थीलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । नगद पुरस्कारसँगै माला, दोसल्ला, ताम्रपत्र र विद्या पदक प्रदान गरिएको हो ।

सम्मानपछि बोल्दै ज्योति तामाङले पदकले आफूहरूलाई मात्र नभई समग्र विद्यार्थी समुदायलाई अध्ययन तथा उत्कृष्टताका लागि थप हौसला मिलेको बताइन् । उनले पदक स्थापना गर्ने लक्ष्मी ग्रुप, सञ्चालन गर्दै आएको पोखरा उद्योग वाणिज्य संघ तथा आफ्ना गुरु र अभिभावकप्रति आभार व्यक्त गरिन् । शिक्षासेवी तथा पदक सञ्चालन समितिका सदस्य अमृतलाल श्रेष्ठका अनुसार हालसम्म ७६ जना विद्यार्थी लक्ष्मी विद्या पदकबाट सम्मानित भइसकेका छन् । पदक प्राप्त गरेका धेरै विद्यार्थी अहिले देश तथा विदेशका प्रतिष्ठित संघसंस्था, सरकारी निकाय तथा निजी क्षेत्रमा उच्च जिम्मेवारीमा कार्यरत रहेको उनले बताए । लक्ष्मी विद्या पदकको स्थापना २०५५ साल पुस २० गते गरिएको हो । पोखरा महानगरको दोस्रो नगर परिषदमा पोखरेली नवरत्नका रूपमा सम्मानित हुँदा लक्ष्मी हाउसका उद्योगपति बुद्धिबहादुर श्रेष्ठले प्राप्त गरेको १० हजार रुपैयाँमा लक्ष्मी हाउसका तर्फबाट २ लाख १ हजार १ सय ११ रुपैयाँ थप गरी अक्षयकोष स्थापना गरिएको थियो । सोही कोषमार्फत लक्ष्मी ग्रुपले पदक स्थापना गरेको हो भने यसको सञ्चालन पोखरा उद्योग वाणिज्य संघले गर्दै आएको छ ।

पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चार जनाको प्रतिस्पर्धा

यसैबीच पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन शनिबारदेखि सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको पहिलो दिन उद्घाटन तथा छलफलका कार्यक्रम सम्पन्न भएका छन् भने आइतबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । संघको आगामी दुईवर्षे कार्यकालका लागि अध्यक्ष पदमा चार जनाबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्ष पदका लागि बलराम आचार्य, अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र शोभा गौतमले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा भने टीकाराम सुवेदी र दिनेशचन्द्र बास्तोलाबीच प्रतिस्पर्धा हुँदैछ । २७ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।