
पोखरा,
अधिकारकर्मी तथा पत्रकार मधु पन्थी सम्मानित भएका छन्। कर्मफ्लाइट्स फाउण्डेसन नेपालको १२ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनका अवसरमा शनिबार आयोजित समारोहमा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पन्थीलाई सम्मान गरेका हुन् ।
मानवअधिकार, पत्रकारिता, सञ्चार तथा सामाजिक अभियानका क्षेत्रमा साढे दुई दशक भन्दा लामो समयदेखि निरन्तर सक्रिय रही समाज रूपान्तरणमा पुर्याएको योगदानको कदरस्वरूप पन्थीलाई सम्मान गरिएको फाउण्डेसनले जनाएको छ । पन्थीले शिक्षा, स्वास्थ्य, खाद्य अधिकार तथा मानवअधिकारका सवाललाई पत्रकारितामार्फत निरन्तर उठाउँदै आएका छन्। सामाजिक क्षेत्रमा रहेका समस्या, नागरिकका अधिकार तथा पीडितका आवाजलाई समाचार र सूचनाका माध्यमबाट आमजनतासम्म पुर्याउन उनको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।
पन्थी लामो समयदेखि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गण्डकी प्रदेश कार्यालय पोखरासँग आबद्ध भएर मानवअधिकारका क्षेत्रमा काम गरेका थिए । २०५६ सालदेखि २०८१ सालसम्म इन्सेकमा रहेर काम गर्दा उनले मानवअधिकार उल्लङ्घनका घटनाको अनुगमन तथा अभिलेखीकरण, पीडितका सवालको उठान तथा न्यायका लागि पैरवीलगायतका क्षेत्रमा प्रत्यक्ष योगदान पुर्याएका थिए । मानवअधिकारका सवाललाई नजिकबाट बुझ्दै पत्रकारितामार्फत नागरिकका आवाजलाई सार्वजनिक बहसमा ल्याउने कार्यमा पन्थी निरन्तर सक्रिय रहँदै आएका छन्। उनको मानवअधिकार तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै यसअघि पनि विभिन्न संस्थाले सम्मान गरिसकेका छन्। शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराबाट २०६४ सालमा तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट २०६९ सालमा उत्कृष्ट कार्य गरेबापत उनी सम्मानित भएका थिए ।
कर्मफ्लाइट्स फाउण्डेसन नेपालको वार्षिक साधारणसभा तथा अधिवेशनमा समाज रूपान्तरणमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले सामाजिक न्याय, मानवअधिकार र नागरिकका सवालमा निरन्तर काम गर्ने व्यक्तित्वको सम्मानले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने बताए । सम्मान ग्रहण गर्दै पन्थीले मानवअधिकार, सामाजिक न्याय र नागरिकका सवालमा आफूले गर्दै आएको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।





