
पोखरा,
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद आचार्य नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशको आमन्त्रित सदस्यमा मनोनयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशको २०८३ जेठ २४ गते बसेको दोस्रो कार्यकारिणी समिति बैठकले आचार्यलाई आमन्त्रित सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेलले आचार्यलाई मनोनयन गरिएको पोखराक्लिकलाई जानकारी दिँदै महासंघलाई सशक्त रुपमा अघि बढाउने कार्यमा उनको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरेका छन् । महासंघको सदस्यमा मनोनयन भएपछि आचार्यले पोखरालाई केन्द्रमा राखेर पर्यटन क्षेत्रको दिगो विकास, पर्यटन गतिविधिको विस्तार तथा पर्यटकीय पूर्वाधार र गन्तव्यको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि आफ्नो क्षेत्रबाट निरन्तर आवाज उठाउने बताएका छन् । पर्यटनको राजधानी पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन हुनु पर्यटन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हुने उनको भनाइ छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी सेप्टेम्बर २३ देखि फ्लाई दुबईले उडान गर्ने तय भएको भन्दै उनले यसले पोखराको पर्यटनमा नयाँ सम्भावनाको ढोका खोल्ने बताए ।
“लामो समयदेखि पोखराबाट अन्तर्राष्ट्रिय उडानको माग गर्दै आएका थियौँ । अब फ्लाई दुबईको उडान सुरु हुने भएपछि हामी उत्साहित छौँ,” आचार्यले भने, “दुबई हुँदै विश्वका करिब १४० गन्तव्यमा जोडिन सकिने भएकाले पोखराको पर्यटनमा यसको सकारात्मक प्रभाव पर्नेछ ।”पोखराबाट सिधा अन्तर्राष्ट्रिय उडान हुन थालेपछि गण्डकीका हिमाली तथा पदयात्रा गन्तव्यमा आउने पर्यटकले काठमाडौं हुँदै आउनुपर्ने बाध्यता हट्ने उनको विश्वास छ । काठमाडौंमा प्रवेश गरेर पोखराबाट बाहिरिने गरी ‘फ्लाइट कनेक्टिभिटी’ व्यवस्थापन गर्न सके पर्यटकको समय बचत हुनुका साथै पोखराका स्थानीय पर्यटन व्यवसायी र जनशक्तिले प्रत्यक्ष लाभ लिन सक्ने उनले बताए । आचार्यका अनुसार गण्डकी प्रदेश पर्यटनका लागि अत्यन्तै उर्वर क्षेत्र हो । मनाङ, मुस्ताङलगायतका हिमाली क्षेत्र, विभिन्न पदमार्ग, होमस्टे तथा सांस्कृतिक गतिविधिले विदेशी पर्यटकलाई आकर्षित गर्ने क्षमता राख्छन् । नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन भएमा आगामी वर्षदेखि पोखरामा विदेशी पर्यटकको आगमन अझ बढ्ने उनको अपेक्षा छ ।
उनले पर्यटनलाई सिजनमा मात्र सीमित नराखी वर्षभर पर्यटकीय गन्तव्य चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । मनाङ, मुस्ताङलगायत उच्च हिमाली क्षेत्रमा वर्षायाममा समेत प्राकृतिक सौन्दर्य, फूल तथा सांस्कृतिक गतिविधि आकर्षक हुने भन्दै ती गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रुपमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताए । “सिजनमा मात्र भर परेर पर्यटन व्यवसायी र श्रमिक दुवै धानिन सक्ने अवस्था हुँदैन । त्यसैले अन्तर्राष्ट्रिय उडानसँगै १२ महिना पर्यटक आउने वातावरण बनाउनुपर्छ,” उनले भने । आचार्यले नेपाल पर्यटन बोर्डले पूर्वाधार निर्माणभन्दा पर्यटन प्रवद्र्धनमा बढी केन्द्रित हुनुपर्ने धारणा पनि राखेका छन् । अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालको प्रस्तुती अझ आकर्षक बनाउनुपर्ने, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्नुपर्ने तथा अन्तर्राष्ट्रिय र स्थानीय सञ्चारमाध्यममार्फत नेपाली पर्यटन उत्पादनलाई प्रभावकारी रुपमा प्रचार गर्नुपर्ने उनको सुझाव छ । उनका अनुसार नेपालका पर्यटकीय गन्तव्यबारे विदेशी पर्यटकमा चासो रहे पनि सुरक्षा, पूर्वाधार, उडान र उद्धारसँग सम्बन्धित नकारात्मक समाचारले नेपालको पर्यटनमा असर पारिरहेको छ । फेक रेस्क्यु लगायतका विकृति नियन्त्रणका लागि राज्यले गम्भीर भएर दोषीमाथि कारबाही गर्नुपर्ने उनले बताए ।
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनु गण्डकीको पर्यटन मात्र नभई स्थानीय अर्थतन्त्रका लागि समेत महत्वपूर्ण हुने आचार्यको भनाइ छ । सिधै पोखरा आउने पर्यटकले स्थानीय ट्राभल, ट्रेकिङ, होटल तथा अन्य पर्यटन व्यवसायको सेवा प्रयोग गर्ने भएकाले यसको प्रत्यक्ष लाभ स्थानीय व्यवसायीले पाउने उनले बताए । “पोखरा अहिलेसम्म काठमाडौं हुँदै आउने पर्यटकको गन्तव्यका रुपमा सीमित भयो । अब सिधै पोखरा आउने अवस्था बन्नुपर्छ । नियमित उडान भयो भने आगामी सिजनदेखि पोखरामा पर्यटकको आगमन बढाउन हामीले अन्तर्राष्ट्रिय बजारमा थप प्रभावकारी प्रचार गर्न सक्छौँ,” आचार्यले भने ।




