पोखरा–काठमाडौं रुटमा साकुरा होलिडेजको अत्याधुनिक सेवा सहितको बस सेवा सुरु (भिडियो सहित)

-


     पोखरा क्लिक     
     भाद्र १ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, १ भदौ,

पर्यटकीय राजधानी पोखरालाई काठमाडौंसँग जोड्ने उद्देश्यले साकुरा होलिडेज प्रालिले पोखरा–काठमाडौं रुटमा पर्यटक बस सेवा सञ्चालनमा ल्याएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आरामदायी, सुरक्षित र स्तरीय यातायात सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ पर्यटक बस सेवा सुरु गरेकोे कम्पनीले पोखराक्लिकलाई जनाएको छ ।

पोखरा–काठमाडौं रुटमा सञ्चालनमा ल्याइएको बसमा आरामदायी लक्जरी सिट, वाइफाइ, टेलिभिजन लगायतका सुविधा उपलब्ध रहेको कम्पनीका सञ्चालक राजेन्द्रकुमार पौडेलले बताउनु भयो । नेपालको सडकको अवस्था र यात्रालाई सहज बनाउन आधुनिक प्रविधियुक्त सस्पेन्सन प्रणाली प्रयोग गरिएको बसमा गर्मी तथा जाडो दुवै मौसममा यात्रुलाई सहज हुने वातानुकूलित व्यवस्था गरिएको उहाँले जनाउनु भयो । बसमा हङकङबाट ल्याइएका सिट जडान गरिएको र अन्य आवश्यक पार्टपुर्जा तथा फिटिङको काम नेपालमै गरिएको कम्पनीले जनाएको छ । अनुभवी चालक तथा परिचालकको व्यवस्था गरिएको र यात्रुको सुझावअनुसार आगामी दिनमा थप सुविधा विस्तार गर्दै लैजाने योजना रहेको संचालक पौडेलले बताउनुभयो । कम्पनीका अनुसार सन् २०२२ देखि सञ्चालनमा रहेको फोर–ह्विल सस्पेन्सनयुक्त अशोक लेल्यान्डका बससमेत सेवामा प्रयोग हुँदै आएका छन्। पोखरा–काठमाडौं यात्राको भाडा प्रतियात्रु १ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । साकुरा होलिडेजले हाल लुम्बिनी–पोखरा तथा पोखरा–काठमाडौं रुटमा गरी ७ वटा गाडी सञ्चालनमा रहेको जनाएको छ । कम्पनीका अनुसार यातायात सेवामा करिब ७ करोड रुपैयाँ लगानी भएको छ ।

सञ्चालक पौडेलले आगामी दिनमा चितवनको सौराहा रुटमा विद्युतीय (ईभी) बस सञ्चालन गर्ने योजना समेत रहेको बताउनुभयो । उहाँले पोखरालाई केन्द्रमा राखेर अन्य पर्यटकीय गन्तव्यमा समेत स्तरीय यातायात सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । पोखरा, काठमाडौं र लुम्बिनीलाई सहज तथा गुणस्तरीय यातायात सेवामार्फत जोड्दै पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने कम्पनीको लक्ष्य छ । साकुरा होलिडेजले आफ्नो सेवाको मूल उद्देश्य ‘आरामदायी यात्रा, सुरक्षित यात्रा र गुणस्तरीय सेवा’ रहेको जनाएको छ । पोखरा–काठमाडौं पर्यटक बस काठमाडौंको सोह्रखुट्टेबाट बिहान ७ बजे र पर्यटक बसपार्कबाट बिहान ८ बजे प्रस्थान गर्ने भएको छ ।

यसैबिच, आज (सोमबार) एक समारोहबीच नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बस सेवाको उद्घाटन गर्दै पोखरामा अत्याधुनिक पर्यटक बस सेवा सञ्चालन हुनु पर्यटन क्षेत्रका लागि सकारात्मक विषय भएको बताउनुभयो । उहाँले समयको मागअनुसार स्तरीय यातायात सेवा थपिँदै जानु आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्वपूर्ण हुने बताउँदै पोखरा–काठमाडौं मात्र नभई पोखराबाट अन्य प्रमुख पर्यटकीय गन्तव्यमा समेत यस्ता सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । लामिछानेले नयाँ बसमा यात्रुलाई विमानको सिटजस्तै आरामदायी सुविधा उपलब्ध गराइएको उल्लेख गर्दै यातायात क्षेत्रको गुणस्तरीय सुधारले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नूभयो ।

उद्घाटन समारोहमा नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, पूर्वअध्यक्ष हरिराम अधिकारी, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, होटल संघ पोखराका प्रतिनिधि लगायत पर्यटन क्षेत्रका व्यवसायी तथा सरोकारवालाको सहभागिता रहेको थियो । साकुरा होलिडेजले यसअघि लुम्बिनी–काठमाडौं–लुम्बिनी दिवा तथा रात्रिकालीन पर्यटक बस सेवा सञ्चालन गर्दै आएको छ । कम्पनीले ‘जाउँ है पोखरा’ अभियानका क्रममा भैरहवामा आयोजित पर्यटन व्यवसायी, पत्रकार तथा अन्य क्षेत्रका व्यवसायीसँगको अन्तक्र्रियाबाट पोखरा–काठमाडौं पर्यटक बस सेवा सञ्चालन गर्ने प्रेरणा प्राप्त भएको कम्पनीले उल्लेख गरेको छ ।



This will close in 20 seconds