
पोखरा, ३० साउन,
नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखरामा “नेपालको पर्यटनमा रुसको भूमिका” विषयक फोटो प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रुसी कूटनीतिक नियोगका प्रतिनिधि, गण्डकी प्रदेशसभा, नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायी, प्राज्ञिक क्षेत्र तथा नेपाल–रुस मैत्रीसम्बन्धी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सात दशक लामो नेपाल–रुस मैत्री सम्बन्धको समीक्षा गर्दै पर्यटन, संस्कृति, शिक्षा, अनुसन्धान तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाबारे छलफल गरिएको थियो । कार्यक्रममा नेपाल–रुस सम्बन्धको ऐतिहासिक पृष्ठभूमिलाई समेत स्मरण गरिएको थियो। राजा महेन्द्रको शासनकालमा प्रधानमन्त्री टंकप्रसाद आचार्यको नेतृत्वमा नेपाल र तत्कालीन सोभियत संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको इतिहासलाई स्मरण गर्दै सोभियत नेता निकिता ख्रुस्चेभ तथा प्रधानमन्त्री निकोलाई बुल्गानिनको नेतृत्वमा भएका कूटनीतिक पहलहरू तथा त्यसपछिका वर्षमा राजा वीरेन्द्रको शासनकालमा शिक्षा, प्राविधिक सहयोग, स्वास्थ्य तथा विकासका क्षेत्रमा विस्तार भएको द्विपक्षीय सहकार्यबारे चर्चा गरिएको थियो ।

पर्यटन विषयका अध्यापक तथा विद्यावारिधि शोधार्थी सुभाष मल्लले नेपालमा पर्यटन विकासमा रुसको योगदान र प्रभावबारे आफ्नो अनुसन्धान प्रस्तुत गर्नुभयो। उहाँले विशेषगरी पोखराको पर्यटन र नेपाल–रुसबीच पर्यटन सहकार्य विस्तारका सम्भावनाबारे चर्चा गर्नुभयो । त्यसैगरी सहायक प्राध्यापक तथा विद्यावारिधि शोधार्थी उज्ज्वल अधिकारीले नेपाल र रुसबीच शिक्षा, अनुसन्धान तथा ज्ञान आदान–प्रदानको सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने विषयमा प्राज्ञिक धारणा प्रस्तुत गर्नुभयो । पर्यटन क्षेत्रबाट पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले नेपालका लागि रुसी पर्यटकको महत्त्वबारे चर्चा गर्दै पर्यटन प्रवद्र्धन, गन्तव्य बजारीकरण तथा संस्थागत सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पोखरालाई रुसी पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न थप पहल आवश्यक रहेको बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका वरिष्ठ अधिकृत मणिराज लामिछानेले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्न पर्यटन संस्थाहरूको भूमिकाबारे प्रकाश पार्दै रुसी पर्यटन बजारमा समन्वयात्मक प्रवद्र्धन तथा संस्थागत पहलमार्फत थप प्रभावकारी रूपमा जोडिनुपर्ने बताउनुभयो। कार्यक्रमकी विशेष अतिथि रुसी महासंघको नेपालस्थित दूतावासकी काउन्सिलर तथा रुसी हाउस, काठमाडौंकी प्रमुख अनास्तासिया खोख्लोभाले नेपाल र रुसबीच लामो समयदेखि कायम रहेको मैत्री सम्बन्धको चर्चा गर्दै पर्यटन, संस्कृति, शिक्षा तथा प्रत्यक्ष जनस्तरको सम्बन्धलाई आगामी दिनमा अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशसभाकी उपसभामुख तथा कार्यक्रमकी प्रमुख अतिथि माननीय बिना कुमारी थापाले नेपाल–रुस सम्बन्धको महत्त्व उल्लेख गर्दै गण्डकी प्रदेश तथा पोखराले रुसी संस्था तथा सहरहरूसँग पर्यटन, संस्कृति, शिक्षा र अन्य क्षेत्रमा सहकार्य विस्तार गर्न सक्ने सम्भावनाबारे प्रकाश पार्नुभयो ।
नेपाल–रुस जनमैत्री समाजका अध्यक्ष केशवराज लम्सालको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा समाजका संस्थापक अध्यक्ष कुसुम केशव पराजुली, मित्रकुञ्जका उपाध्यक्ष इन्जिनियर लक्ष्मीप्रसाद त्रिपाठी,कार्यसमिति सदस्य अनन्तकुमार श्रेष्ठ लगाएतले बोलेको उक्त कार्यक्रमकोे सन्चालन समाजका महासचीव मोती भुजेलले गरेका थिए । कार्यक्रममा नेपाल–रुस मैत्री तथा सहकार्य प्रवद्र्धनमा योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संस्थालाई प्रशंसापत्र तथा मायाको चिनो समेत प्रदान गरिएको थियो ।




