
दीननाथ बराल,
पोखरा २५, साउन,
पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको आगामी ७२ औं साधारण सभा तथा ३६ औँ महाधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । आगामी भदौ २० र २१ गते हुने महाधिवेशनमा अध्यक्ष पदका लागि हालसम्म तीन जनाले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
हालसम्म संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, वाणिज्य उपाध्यक्ष बलराम आचार्य र महासचिव शोभा गौतमले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, अर्जुन पोखरेलको नाम पनि अध्यक्षका सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ । पोखरेलले भने अहिलेसम्म औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन् । संघको नेतृत्वमा पुग्न खोजिरहेका तीनै प्रमुख प्रत्यासी संगठनभित्र लामो समयदेखि सक्रिय छन् । बुद्धाचार्य कार्यकारी सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पुगेका हुन् । आचार्य पनि एक दशकभन्दा लामो समयदेखि संघको गतिविधिमा सक्रिय रहँदै आएका छन् । महासचिव गौतमले विभिन्न उपसमिति हुँदै कार्यसमिति सदस्य, उपमहासचिव र महासचिवको जिम्मेवारी सम्हालिसकेकी छन् । २०११ सालमा अमृतप्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको पोखराको जेठो सामाजिक संस्था संघमा हाल २ हजार ७ सय ३१ सदस्य आबद्ध भएका छन् ।
संस्थाको ‘लेगेसी’ जोगाउँदै नेतृत्वमा पुग्ने दाउमा उत्तममान बुद्धाचार्य

पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले आफ्नो दाबीलाई अनुभव, व्यावसायिक विरासत र संस्थाको ऐतिहासिक भूमिकासँग जोडेर अघि सारेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका रूपमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि तथा समग्र आर्थिक विकासमा पु¥याएको योगदानलाई निरन्तरता दिन आफ्नो नेतृत्व आवश्यक रहेको बुद्धाचार्यको दाबी छ । व्यावसायिक परिवारबाट आएका बुद्धाचार्यका लागि व्यवसाय नयाँ क्षेत्र होइन । हजुरबुवा र बुबाबाट सुरु भएको सुनचाँदी व्यवसायको विरासतलाई अगाडि बढाउँदै उनले आफ्नो व्यावसायिक यात्रा विस्तार गरेका हुन् । २०४२÷४३ सालतिर एलिगेन्स ट्रेड सेन्टरमार्फत व्यवसायमा सक्रिय भएका बुद्धाचार्य पछिल्लो समय विभिन्न व्यावसायिक तथा सामाजिक संस्थामा समेत जोडिँदै आएका छन् ।
पोखरा उद्योग वाणिज्य सङ्घमा कार्यकारी सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पुगेका बुद्धाचार्यले संघको संस्थागत यात्रालाई नजिकबाट बुझ्ने अवसर आफूले पाएको बताउँछन् । उनका अनुसार विगतमा संघले व्यवसायीको हकहितसँगै पोखराको समग्र विकासमा खेलेको भूमिका नै संस्थाको सबैभन्दा ठूलो ‘लेगेसी’ हो । यही विरासतलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन आफू अध्यक्षको प्रत्यासी बनेको उनको भनाइ छ । आयात–निर्यातका समस्या, व्यवसायीले भोगिरहेका व्यावहारिक कठिनाइ तथा राज्यका सम्बन्धित निकायसँग निजी क्षेत्रको समन्वयलाई आफ्नो नेतृत्वको प्राथमिकतामा राख्ने बुद्धाचार्यले पोखराक्लिकलाई बताएका छन् । ‘संघले विगतमा व्यवसायीको हकहितसँगै पोखराको शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको विकासमा पनि भूमिका खेलेको छ,’ उनको भनाइ छ, ‘त्यही संस्थागत विरासतलाई अझ बलियो बनाउँदै व्यवसायीका मुद्दामा प्रभावकारी बहस र पैरवी गर्ने मेरो लक्ष्य हो ।’
सानादेखि मझौला हुँदै ठूला उद्योगी–व्यवसायी तथा पर्यटन व्यवसायीसँग सहकार्य गर्दै निजी क्षेत्रभित्रको एकता बलियो बनाउने उनको योजना छ । पोखराको धार्मिक तथा सांस्कृतिक क्षेत्रसँग समेत लामो समयदेखि जोडिएको अनुभवलाई व्यवसायिक नेतृत्वसँग जोड्ने बुद्धाचार्यले जनाए । उनको व्यावसायिक पृष्ठभूमि सुनचाँदी व्यवसायसँग पनि जोडिएको छ । उनको परिवारले सुनचाँदीका गरगहना निर्माण गर्ने कालीगढलाई प्रोत्साहन गर्नेदेखि व्यवसाय विस्तारसम्म महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । उनी विश्व शान्ति स्तुप समिति लगायत विभिन्न सामाजिक तथा संस्थागत गतिविधिमा समेत सक्रिय रहँदै आएका छन् । यसपटकको निर्वाचनमा बुद्धाचार्यले आफ्नो सबैभन्दा ठूलो शक्ति अनुभव र संस्थागत निरन्तरतालाई मानेका छन् । लामो समयदेखि संघमा सक्रिय रहँदा प्राप्त व्यवसायीको विश्वासलाई मतमा परिणत गर्ने उनको रणनीति देखिन्छ । यसपटक व्यवसायीले आफूलाई नेतृत्वको जिम्मेवारी दिए संघको पुरानो गरिमा कायम राख्दै नयाँ आवश्यकताअनुसार संस्थालाई अघि बढाउने उनको दाबी छ ।
महिला नेतृत्वमार्फत नयाँ इतिहास रच्ने दाउमा शोभा गौतम

पोखरा उद्योग वाणिज्य सङ्घको ७२ औँ वार्षिक साधारण सभा तथा ३६औँ महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदको प्रतिस्पर्धा रोचक बन्दै गएको छ । अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेकी वर्तमान महासचिव शोभा गौतमले भने आफ्नो उम्मेदवारीलाई संघको इतिहासमा नयाँ अध्याय थप्ने अवसरका रूपमा प्रस्तुत गरेकी छन् । पोखरा क्षेत्रकै जेठो निजी क्षेत्रको संस्थाका रूपमा स्थापित पोखरा उद्योग वाणिज्य सङ्घले अहिलेसम्म महिला अध्यक्ष पाउन सकेको छैन । यही अवस्थामा आफूलाई पहिलो महिला अध्यक्षका रूपमा अघि सार्दै गौतमले महिला नेतृत्वसँगै समावेशी, व्यवसायीमैत्री र सशक्त संस्थाको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
गौतम २०७३ सालमा संघको महिला उपसमितिबाट संघको औपचारिक यात्रामा जोडिएकी हुन् । त्यसपछि विभिन्न जिम्मेवारी सम्हाल्दै कार्यसमिति सदस्य, उपमहासचिव हुँदै हाल महासचिवको भूमिकामा पुगेकी छन् । संघभित्र लामो समयदेखि विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभवलाई नै आफ्नो उम्मेदवारीको मुख्य आधार बनाएकी गौतमले आफूले पदका लागि मात्रै नभई काम गर्ने उद्देश्यका साथ अध्यक्षमा दाबी गरेको बताएकी छन् । ‘पोखरा उद्योग वाणिज्य सङ्घको इतिहासमा अहिलेसम्म महिलाले अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छैनन्,’ गौतमको भनाइ छ, ‘त्यसैले मेरो उम्मेदवारी व्यक्तिगत आकाङ्क्क्षा मात्र होइन, अनुभव, क्षमता, समावेशी नेतृत्व र सकारात्मक परिवर्तनको अभियान पनि हो ।’
व्यवसायीले विश्वास गरेर नेतृत्वको जिम्मेवारी दिए आफूले त्यसलाई इमानदारीपूर्वक पूरा गर्ने उनको प्रतिबद्धता छ । व्यवसायीहरूको नेतृत्व क्षमता विकास, संस्थागत क्षमता अभिवृद्धि तथा व्यवसायीका समस्यालाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाउने उनको भनाइ छ । अध्यक्षको उम्मेदवारीसँगै गौतम अहिले व्यवसायीहरूसँगको भेटघाट र घरदैलोमा सक्रिय छिन् । व्यवसायीको वास्तविक समस्या बुझेर आगामी कार्ययोजना तयार गर्ने उनको तयारी छ । गौतमले आफ्नो दुईवर्षे कार्यकाललाई व्यक्तिगत नेतृत्वभन्दा पनि सशक्त टिममार्फत अघि बढाउने पोखराक्लिकलाई बताएकी छन् । ‘संघको नेतृत्व एक जनाले मात्र गर्ने होइन, सक्षम टिमले गर्ने हो,’ उनको धारणा छ । व्यवसायिक क्षेत्रमा समेत सक्रिय गौतमले पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालि, पुष्पाञ्जली रेस्टुरेन्टलगायत विभिन्न व्यवसाय तथा सेवामूलक प्रतिष्ठानमा लगानी गरेकी छन् ।
संघ भित्रको लामो अनुभवलाई नेतृत्वमा बदल्ने तयारीमा बलराम आचार्य

पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका वर्तमान वाणिज्य उपाध्यक्ष बलराम आचार्यले संघ भित्र आफूले निर्वाह गरेको विभिन्न जिम्मेवारी र कार्यसम्पादनलाई नेतृत्वको मुख्य आधार बनाएका छन् । आचार्य २०७१ सालमा तत्कालीन अध्यक्ष बिन्दुकुमार थापाको नेतृत्वमा संघको मनोनित सदस्यका रूपमा जोडिएका थिए । त्यसपछि २०७३ र २०७५ मा खुला सदस्य, २०७७ देखि २०७९ सम्म कोषाध्यक्ष, २०७९ देखि २०८१ सम्म महासचिव हुँदै २०८१ देखि हालसम्म वाणिज्य उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । संघका विभिन्न कार्यक्रम तथा अभियानमा संयोजक र सहसंयोजकको जिम्मेवारी निर्वाह गरेको अनुभवलाई अध्यक्ष पदको उम्मेदवारीको आधार बनाएका आचार्यले आफूले संघभित्र सिकेको र गरेको कामलाई अब नेतृत्वको तहमा पु¥याउने समय आएको बताएका छन् ।
‘संघका विभिन्न जिम्मेवारीमा रहेर काम गर्ने क्रममा व्यवसायीका समस्या र संस्थाको भूमिकालाई नजिकबाट बुझ्ने अवसर पाएको छु,’ आचार्यको भनाइ छ, ‘अब त्यसै अनुभवलाई नेतृत्वमार्फत परिणाममा बदल्ने मेरो प्रयास हो ।’ आचार्यले आफ्नो करिब एक दशकभन्दा लामो संस्थागत यात्रामा प्राप्त व्यवसायीको मत र विश्वासलाई आफ्नो सबैभन्दा ठूलो चुनावी आधार मानेका छन् । विभिन्न जिम्मेवारीमा रहँदा गरेको कार्यसम्पादनले व्यवसायीको विश्वास जितेको उनको दाबी छ । पोखरा उद्योग वाणिज्य सङ्घले स्थानीय तहमा जनप्रतिनिधि नभएको लामो अवधिमा समेत निजी क्षेत्रको आवाज उठाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै आचार्यले आगामी दिनमा पनि संस्थालाई प्रभावकारी भूमिकामा स्थापित गर्ने बताएका छन् । उनको प्राथमिकतामा पोखराको पर्यटनसहित समग्र आर्थिक विकास रहेको छ । शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा संघले विगतमा बनाएको संस्थागत आधारलाई थप विस्तार गर्दै तीन तहका सरकारसँग आवश्यक समन्वय गर्ने उनको योजना छ । पोखरा पर्यटन परिषद्को स्थापनामा संघका पूर्वअध्यक्ष अशोक पालिखेको भूमिकालाई स्मरण गर्दै आचार्यले विगतको संस्थागत ‘लेगेसी’लाई आगामी नेतृत्वले पनि निरन्तरता दिनुपर्ने बताएका छन् । ‘पोखरा उद्योग वाणिज्य सङ्घले विगतमा पोखराको विकासका लागि जुन भूमिका खेलेको थियो, त्यसलाई अझ उचाइमा पु¥याउने गरी काम गर्नुपर्छ,’ उनले भनेका छन् ।
आफ्नो दुईवर्षे कार्यकालमा व्यवसायीले प्रत्यक्ष रूपमा देख्न सक्ने कम्तीमा दुईवटा महत्वपूर्ण काम गर्ने उनको दाबी छ । उक्त कार्यक्रम के कस्तो भन्ने हाल खुलाउन चाहेनन् । नियमित संस्थागत कामलाई अझ प्रभावकारी बनाउने र देखिने परिणाम दिने कामलाई प्राथमिकता दिने उनले पोखराक्लिकलाई बताएका छन् । आचार्यले संघको विभिन्न जिम्मेवारीमा रहँदा कार्यसम्पादनका आधारमा प्राप्त सम्मानलाई पनि आफ्नो यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । उनका लागि यसपटकको अध्यक्ष पदको निर्वाचन संघभित्रको लामो संस्थागत यात्राको ‘अन्तिम खुड्किलो’ जस्तै बनेको छ । ‘व्यवसायीले अहिलेसम्म विश्वास गरेर यहाँसम्म पु¥याउनुभएको छ,’ आचार्यको भनाइ छ, ‘अब नेतृत्व सम्हाल्ने अन्तिम अवसरमा पनि त्यही विश्वास र अमूल्य मत प्राप्त गर्नेमा विश्वस्त छु ।’ संघभित्र विभिन्न तहमा काम गरिसकेको अनुभवलाई आफ्नो पक्षको बलियो आधार मान्दै उनी अहिले व्यवसायी भेटघाट र चुनावी तयारीमा सक्रिय छन् । यसपटकको निर्वाचनमा आचार्यले आफ्नो उम्मेदवारीलाई ‘अनुभवबाट नेतृत्व र नेतृत्वबाट परिणाम’ दिने अभियानका रूपमा अघि बढाएका छन् ।
त्यसै गरी वरिष्ठ उपाध्यक्ष पदमा दिनेशचन्द्र बाँस्तोला, हरिराज पन्त र सोभित पौडेलबीच प्रतिस्पर्धा हुने चर्चा छ । उद्योग उपाध्यक्षमा ललितबहादुर कुँवर, बालकृष्ण कोइराला र सौगात थापाको नाम अगाडि आएको छ । त्यस्तै, वाणिज्य उपाध्यक्षमा मनोज श्रेष्ठ, रामेश्वर अधिकारी र रुद्रनाथ लुईटेलबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । महासचिव पदमा सुदीप प्रधानाङ्ग, तारानाथ ढुंगाना र टीकाराम सुवेदीको नाम चर्चामा छ । उपमहासचिवमा प्रदीप राजभण्डारी, भीम गौतम र रामचन्द्र तिमिल्सिना तथा कोषाध्यक्षमा देवेन्द्र प्रजू, विनोद केसी र जीवनप्रकाश श्रेष्ठबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
कोषाध्यक्ष पदका लागि देवेन्द्र प्रजूले भने आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरिसकेका छन् । प्रजू एण्ड सन्स प्रालिका सञ्चालकसमेत रहेका प्रजूले संघको आर्थिक व्यवस्थापनलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सदस्य पदमा पनि आकांक्षीको लामो सूची रहेको छ । कार्यसमिति सदस्य पदमा समेत ठूलो संख्यामा आकांक्षी देखिएका छन् । मनोहरी पौडेल, दुधमान गुरुङ ‘आशिष’, दुर्गा बराल, यादवराज पोखरेल, प्रेम सुवेदी, रामप्रसाद कडेल, पृथ्वीराज तिमिल्सिना, नवीन नापित, एकनारायण गौतम, सुरेश घिमिरे, कमलबहादुर सुनार, दिलीप श्रेष्ठ, रुद्रलाल श्रेष्ठ, नवीन पौडेल, चिन्तामणि खरेल, भवसागर बराल, रामचन्द्र शर्मा र अमृत पोखरेललगायतको नाम चर्चामा छ । अध्यक्षका प्रत्यासीहरूले आफ्ना छुट्टाछुट्टै प्यानल बनाउने तयारी थाले पनि सदस्य पदमा पूर्ण प्यानल निर्माण गर्न भने चुनौती देखिएको छ ।
यसपटकको निर्वाचनमा राजनीतिक दलहरूको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव कति पर्छ भन्ने विषयलाई पनि चासोका साथ हेरिएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत राजनीतिक दलसँग नजिक रहेका व्यवसायी तथा समूहले कुन उम्मेदवारलाई साथ दिन्छन् भन्ने विषयले चुनावी परिणाममा प्रभाव पार्न सक्ने आकलन गरिएको छ । त्यसैगरी जातीय तथा लैंगिक समीकरणले समेत मत विभाजनमा भूमिका खेल्न सक्ने चर्चा व्यवसायी वृत्तमा छ । यद्यपि संघका पूर्वअध्यक्षहरू अहिलेसम्म कुनै पनि उम्मेदवारको पक्षमा खुलेर देखिएका छैनन् ।
निर्वाचनको अन्तिम समयसम्म उम्मेदवारबीच पद अदलबदल, प्यानल हेरफेर वा सहमतिको प्रयास हुन सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन । त्यसैले अहिले चर्चामा रहेका सबै नाम अन्तिम उम्मेदवारकै रूपमा कायम रहन्छन् भन्ने निश्चित छैन । पोखरा उद्योग वाणिज्य संघमा हाल २ हजार ७ सय ३१ सदस्य रहेका छन् । यति ठूलो सदस्य संख्या रहेको संघको निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न पूर्वअध्यक्ष दामु अधिकारीको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समिति गठन भइसकेको छ । संघको ३६औँ महाधिवेशनसँगै ७२औँ वार्षिक साधारणसभा पनि भदौ २० र २१ गते हुँदैछ । महाधिवेशनको मिति तय भएसँगै नयाँ नेतृत्वका लागि व्यवसायीहरूबीच भेटघाट, छलफल र समर्थन जुटाउने क्रम तीव्र बनेको छ ।




