
दीननाथ बराल,
पोखरा २१, साउन,
पोखरा महानगरपालिका–१० रामघाटमा करिब ३ बर्ष अघि निर्माण भएको आधुनिक विद्युतीय शवदाह गृह हालसम्म पनि संचालनमा आउन सकेको छ्रैन् । पोखरा महानगरपालिकाले आवश्यक कार्यविधि तयार गरिसकेको र केही प्राविधिक तथा व्यवस्थापकीय प्रक्रिया पूरा भएपछि छिट्टै विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइने तयारी गरिएको पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारी ले पोखराक्लिकलाई बताउनु भयो ।
“विद्युतीय शवदाह गृह सञ्चालनसँग सम्बन्धित केही व्यवस्थापकीय तथा प्राविधिक विषय अध्ययन गरेर आवश्यक कार्यविधि तयार गरिएको छ । अब केही समयभित्रै शवदाह गृह सञ्चालनमा ल्याउने तयारी छ,” उहाँले भन्नुभयो । सूचना अधिकारी तिवारीका अनुसार बेवारिसे शवको व्यवस्थापन, सञ्चालनको जिम्मेवारी, सेवा सञ्चालनको प्रक्रिया तथा प्रति शव लाग्ने शुल्क निर्धारणलगायत विषयमा अन्तिम छलफल भइरहेको छ । प्रारम्भिक चरणमा प्रति शव करिब तीन हजार रुपैयाँ शुल्क निर्धारण गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ । सहरी विकास मन्त्रालयको पहलमा निर्माण भएको यो वातावरणमैत्री संरचना सञ्चालनमा आएपछि परम्परागत दाउरा प्रयोगमा कमी आउने, वन संरक्षणमा टेवा पुग्ने, प्रदूषण घट्ने तथा शवदाह प्रक्रियालाई छिटो, सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुग्ने पोखराले विश्वास लिएको छ । करिब १४ करोड १३ लाख ४७ हजार ६ सय ३६ रुपैयाँ लागतमा करिब ३ बर्ष अघि निर्माण सम्पन्न भएको अत्याधुनिक संरचना सञ्चालनमा ढिलाइ हुँदा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । रामघाटस्थित आधुनिक विद्युतीय शवदाह गृह निर्माण सम्पन्न भएर हस्तान्तरण भएको लामो समय बितिसक्दा पनि सेवा सुरु हुन नसक्दा परिसरमा झारपात उम्रिएको छ भने करोडौं लगानीको संरचना प्रयोगविहीन बनेको छ । नियमित सञ्चालन नहुँदा जडान गरिएका विद्युतीय उपकरण बिग्रिने जोखिमसमेत बढेको स्थानीयको भनाइ छ ।
पोखरा महानगरपालिका–१० का वडा अध्यक्ष राजेश गुरुङ ले आधुनिक र वातावरणमैत्री शवदाह गृह तत्काल सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँका अनुसार स्थानीय बौद्ध अघौ सदनले लामो समयदेखि सञ्चालनको माग गर्दै आए पनि महानगरले कार्यविधि नबनाउँदा प्रक्रिया अघि बढ्न सकेको थिएन । “यति ठूलो लगानीमा निर्माण भएको संरचना प्रयोगविहीन हुनु दुःखद विषय हो। स्पष्ट मापदण्ड र कार्यविधि बनाएर सञ्चालनमा ल्याउन सके यसबाट पोखरेली मात्र होइन, आसपासका जिल्लाका नागरिकसमेत लाभान्वित हुनेछन्,” अध्यक्ष गुरुङले भन्नुभयो । हाल पोखराका रामघाट, तुल्सीघाट, शक्तिघाट, मदौरेघाट, सीतापाइला घाटलगायत स्थानमा परम्परागत रूपमा दाउराको प्रयोग गरी दैनिक पाँच–छ वटा शव दाहसंस्कार हुँदै आएको छ । वर्षायाममा दाउरामा शव जलाउन कठिन हुने, धेरै दाउरा खपत हुने तथा धुवाँका कारण वातावरण प्रदूषित हुने समस्यालाई मध्यनजर गर्दै विद्युतीय शवदाह गृह निर्माण गरिएको हो ।
करिब १० रोपनी क्षेत्रफलमा फैलिएको शवदाह गृहमा तीन वटा दहन मेसिन राख्ने क्षमता भए पनि हाल दुई वटा मेसिन जडान गरिएको छ । परिसरभित्र अन्तिम श्रद्धाञ्जली कक्ष, हिन्दु धर्मावलम्बीका लागि मन्दिर तथा बौद्ध धर्मावलम्बीका लागि गुम्बा समेत निर्माण गरिएको छ । निर्माण कम्पनी सिनर्जी बिल्डर्स प्रालि का प्रोजेक्ट म्यानेजर इन्द्र खनाल का अनुसार एक मेसिनले ४५ मिनेटदेखि एक घण्टाभित्र एउटा शव दहन गर्न सक्छ । दहनका क्रममा निस्कने धुवाँ र तापलाई प्रशोधन गरी ३० मिटर अग्लो चिम्नीमार्फत बाहिर निकालिने भएकाले वातावरणीय प्रदूषण न्यून हुने दाबी कम्पनीको छ । निर्माण सम्पन्नपछि गरिएको परीक्षणमा दुई वटा शव करिब ४५ मिनेटमै सफलतापूर्वक दहन गरिएको थियो । यो परियोजनाको ठेक्का सम्झौता २०७३ सालमै भए पनि स्थानीयको विरोध, कानुनी प्रक्रिया तथा कोभिड–१९ महामारीका कारण निर्माण कार्य ढिलो सुरु भएको थियो । सर्वोच्च अदालतले निर्माणमा रोक नलगाउने आदेश दिएपछि २०७८ असोजदेखि कामले गति लिएको थियो । दुई वर्षमै सम्पन्न हुनुपर्ने परियोजना विभिन्न कारणले झन्डै सात वर्षपछि पूरा भएको हो ।
निर्माण कम्पनीले २०८० भदौ २० गते उक्त परियोजना निर्माण सम्पन्न गरेको थियो । त्यसपछि परीक्षण तथा अन्य प्राविधिक प्रक्रिया पूरा गरी २०८१ वैशाख २० गते सञ्चालनको जिम्मेवारीसहित पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो । तर सञ्चालन कार्यविधि अभावका कारण सेवा सुरु हुन ढिलाई भएको महानगरले जनाएको छ । उक्त शव दाह स्थल संचालन गर्न स्थानियले जोडदार माग गरेको स्थानिय दीपक थापाले बताउनु भयो ।





