पोखरामा एलपी ग्यास सहज पार्न भोलि (शुक्रबार) देखि खुद्रा पसलबाटै बिक्रि वितरण हुने, स्टोर नगर्न आग्रह

-


     पोखरा क्लिक     
     श्रावण २१ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २१, साउन,

गण्डकी प्रदेशको राजधानी पोखरामा केही दिनदेखि देखिएको खाना पकाउने एलपी ग्यासको अभाव अब विस्तारै हटाउने रणनीतिमा प्रशासन र व्यावसायीले अधिकृत डिलर र खुद्रा पसलबाट बिक्रि वितरण गर्न निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबारदेखि पोखराका सबै अधिकृत डिलर र खुद्रा बिक्री केन्द्रमार्फत नियमित वितरण गर्ने तयारी गरेसँगै बजारको अवस्था सहज बनाउने भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पोखराक्लिकलाई बताउनु भयो ।

उहाँका अनुसार पोखरामा दैनिक ६ हजारदेखि ८ हजार ५ सयसम्म ग्यास सिलिन्डर भित्रिरहेको छ । पछिल्ला दिनमा मुख्य डिलरमा अत्यधिक भीड हुँदा उपभोक्ताले लामो समय लाइनमा बस्नुपरे पनि अब सबै बिक्री केन्द्रबाट वितरण गरिने भएकाले चाप कम हुने विश्वास गरिएको सहायक प्रजिअ बरालले जनाउनु भयो । लामाचौर, पुरन्चौर, हेमजा, छोरेपाटन, पुम्दीभुम्दी लगायत क्षेत्रका उपभोक्ता समेत पोखरा बजारका मुख्य डिलरमा ग्यास लिन पुगेपछि बिहीबार रत्नचोकसहित विभिन्न स्थानमा लामो लाइन देखिएको थियो ।

एलपी ग्यास विक्रेता संघ कास्कीका अध्यक्ष नारायण दाहालले अबको एक सातादेखि १० दिनभित्र बजार पूर्ण रूपमा सामान्य अवस्थामा फर्किने दाबी गर्नुभयो । उहाँका अनुसार हाल शक्ति, गृहलक्ष्मी सहित १४ वटा कम्पनीका ग्यास सिलिन्डर नियमित रूपमा बजारमा वितरण भइरहेका छन् । दाहालका अनुसार अहिले देखिएको समस्या आपूर्तिभन्दा पनि उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास घरमै मौज्दात राख्न थालेपछि सिर्जना भएको हो । बजारमा कृत्रिम अभाव नभएको स्पष्ट पार्दै उहाँले आवश्यक भन्दा बढी ग्यास स्टोर नगर्न सबै उपभोक्तालाई आग्रह गर्नुभयो ।

उहाँले सप्लायर्स मार्फत सबै अधिकृत डिलरलाई नियमित रूपमा ग्यास उपलब्ध गराइने जानकारी दिँदै उपभोक्तालाई मुख्य डिलरमा भीड लाग्नुभन्दा आफ्नो नजिकको अधिकृत डिलर वा सप्लायर्ससँग सम्पर्क गरेर ग्यास लिन सुझाव दिनुभयो । व्यवसायीका अनुसार पछिल्ला केही दिन आपूर्ति केही घटेको र बजारमा फैलिएको हल्लाका कारण उपभोक्ताले अतिरिक्त सिलिन्डर घरमा राख्न थालेपछि वितरण प्रणालीमा असन्तुलन देखिएको हो । प्रशासन र व्यवसायीबीचको समन्वयमा शुक्रबारदेखि वितरणलाई थप व्यवस्थित बनाइने भएकाले पोखरामा देखिएको ग्यास अभाव छिट्टै अन्त्य हुने प्रशासनले जनाएको छ ।



This will close in 20 seconds