
पोखरा, साउन २१,
स्टेप वाई स्टेप माध्यमिक विद्यालय, मासबार, पोखरामा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूबीच अन्तरसदनात्मक नेपाली भाषा कौशल प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूको भाषिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा विद्यालयका चारवटा सदनका चार टिमबाट १६ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका साथै आत्मविश्वास वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता प्रतियोगितामा सक्रिय सहभागिता जनाउने विद्यार्थीहरूलाई भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी विद्यालयका संस्थापक प्राचार्य निर्मला बरालले नेपाली भाषा कौशलसम्बन्धी प्रतियोगिताले विद्यार्थीहरूको भाषिक शुद्धता, उच्चारण क्षमता, शब्दभण्डार तथा अभिव्यक्ति कलाको विकासमा उल्लेखनीय योगदान पुर्याउने बताउनुभयो। उहाँले विद्यालयले विद्यार्थीहरूको चौतर्फी विकासलाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि विद्यार्थीहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो।
प्रतियोगितामा मार्कोनी सदनका प्रशन्ना पराजुली, एलिना थापा, सम्पदा थापा र एलिजा खड्काको टोली प्रथम भएको थियो। त्यसैगरी ग्यालिलियो सदनका रोजित सापकोटा, युनिक बर्तौला, कृपा भण्डारी र अभिनम गिरीको टोली द्वितीय स्थान हासिल गर्न सफल भएको थियो।प्रतियोगिताको निर्णायकको भूमिका विद्यालयका संयोजक सूर्यप्रसाद लम्साल र शिक्षिका सुशीला पौडेलले निर्वाह गर्नुभएको थियो। विद्यालयले यस्ता सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको भाषिक, बौद्धिक तथा व्यक्तित्व विकासमा निरन्तर योगदान पुर्याउँदै आएको जनाएको छ।





