इजरायलमा नेपालीका लागि थप रोजगारीको अवसर विस्तार गरिने ः राजदूत बास

-


     पोखरा क्लिक     
     श्रावण २० गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, साउन २०,

नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले इजरायलमा नेपाली श्रमिकका लागि थप रोजगारीका अवसर विस्तार गर्न पहल गरिने बताउनुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शिष्टाचार भेटका क्रममा राजदूत बासले नेपाली श्रमिकको सीप, दक्षता र श्रमको कदर गर्दै भविष्यमा थप रोजगारीका अवसर सिर्जना गर्न इजरायल सकारात्मक रहेको धारणा राख्नुभएको हो ।

भेटमा नेपाल–इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । साथै कृषि, स्वास्थ्य, शिक्षा, प्रविधि तथा सीप विकासका क्षेत्रमा इजरायलले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको श्रोतको भनाई रहेको छ । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने अभियानलाई सफल बनाउन इजरायलको कृषि प्रविधि, आधुनिकीकरण तथा नवीन कृषि प्रणाली भित्राउन सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले इजरायलको आधुनिक कृषि प्रविधि र अनुभवबाट प्रदेशका किसान प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटवार्ताका क्रममा इजरायलमा कार्यरत नेपाली श्रमिकको वर्तमान अवस्था, उनीहरूको हित संरक्षण, सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारीका अवसर विस्तारका विषयमा समेत विस्तृत छलफल भएको थियो । संघीय सरकारसँगको सहकार्यका अतिरिक्त प्रदेश सरकारसँग पनि श्रम, सीप विकास तथा जनशक्ति व्यवस्थापनका क्षेत्रमा आपसी सहकार्य र समझदारी बढाउने सम्भावनाबारे सकारात्मक विचार आदानप्रदान भएको जनाइएको छ । त्यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने प्रदेश सरकारको नीतिअनुरूप इजरायलसँग पर्यटन प्रवद्र्धन, आवागमन सहज बनाउने तथा हवाई सम्पर्क विस्तारका सम्भावित अवसरहरूबारे पनि सकारात्मक छलफल भएको थियो ।