
पोखरा,
पोखराको गैह्रापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले विगत १२ बर्षदेखि निरन्तर रुपमा ग्रामिण क्षेत्रका बिद्यालयलाई गरेको सहयोगलाई निरन्तरता दिदै उदाहरण प्रस्तुत गरेको छ। विद्यालयले कास्कीका दुई सरकारी विद्यालयका विद्यार्थीलाई करिब रु ३५ हजार बराबरका स्टेशनरी सामग्री तथा खाजा खर्चबापत जनही रु ३० हजारका दरले कुल रु ६० हजार नगद सहयोग उपलब्ध गराएको हो।
सहयोग प्राप्त गर्ने विद्यालयमा माछापुच्छ्रे गाउँपालिका–२, खादरजुङस्थित बाराही आधारभूत विद्यालय र पोखरा महानगरपालिका–१९ स्थित धारा आधारभूत विद्यालय रहेका छन्। कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशोक पालिखेका अनुसार विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले स्वस्फूर्त रूपमा स्टेशनरी सामग्री संकलन गरेका हुन् । संकलित सामग्री कुमुदिनीका विद्यार्थीहरू स्वयं सम्बन्धित विद्यालयमा पुगेर हस्तान्तरण गरेका थिए। सो अवसरमा धारा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव प्रसाद गौतम तथा बाराही आधारभूत विद्यालयका प्रधानाध्यापक राम आचार्यलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो। माछापुच्छ्रे गाउँपालिका–२ का वडाध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा वोल्दै वडाध्यक्ष विद्यालयको शैक्षिक अवस्था सुधारका लागि गरिएको सहयोगको प्रशंसा गर्दै यस्ता अभियानले विद्यार्थीको भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै कुमुदिनी होम्सका संस्थापक अध्यक्ष पालिखेले विद्यालयले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विगत १२ वर्षदेखि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी दिए । उनले आर्थिक सहयोग मात्र नभई शिक्षण–सिकाइको गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा शिक्षक तालिमजस्ता क्षेत्रमा समेत सरकारी विद्यालयसँग सहकार्य गर्ने लक्ष्य रहेको बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने उनको भनाई थियो । सफल मिडिया हाउस प्रालिका अध्यक्ष तथा लायन्स अन्तर्राष्ट्रिय ३२५ के नेपालका निवर्तमान गभर्नर दुर्गा प्रसाद हुमागाईंले यस्तो सेवामूलक अभियानमा सहभागी गराएकोमा कुमुदिनी होम्सप्रति धन्यवाद व्यक्त गरे । उक्त अभियानमा आगामी दिनमा पनि सहयोग गर्ने उनले जनाए । सहयोग प्राप्त गरेपछि धारा आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष माधव प्रसाद गौतम र बाराही आधारभूत विद्यालयका प्रधानाध्यापक राम आचार्यले कुमुदिनी होम्स परिवार, संस्थापक अध्यक्ष अशोक पालिखे तथा सहयोगदाता हुमागाईंप्रति आभार व्यक्त गरे ।आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न र सहज वातावरणमा अध्ययन गर्न यस्ता सहयोगले थप टेवा पुग्ने उल्लेख गर्दै निजी विद्यालयको सामाजिक पहल अन्य संस्थाका लागि पनि प्रेरणादायी बन्ने गौतमले विश्वास व्यक्त गरे ।




