नेका कास्कीद्धारा विपि स्मृति दिवसमा विविध कार्यक्रममा

-


     पोखरा क्लिक     
     श्रावण ६ गते २०८३ मा प्रकाशित


पोखरा,

नेपाली कांग्रेस कास्कीले ४४ औँ बीपी स्मृति दिवस मनाएको छ। स्मृति दिवस सँगसँगै नेपाली कांग्रेसले सुरु गरेको जरा अभियान पनि समापन गरिएको छ । कास्की कांग्रेसले यसपटक विद्यार्थीबीच वक्तित्वकला प्रतियोगिता र पोखरा पर्यटन सम्बन्धी नीति लेखन प्रस्तुतिकरण प्रतियोगिता गरेको नेपाली काँग्रेस कास्कीका सहससचिव एवम् प्रवक्त नबिन सिग्देलले जानकारी दिए ।

११ जना सहभागी नीति लेखन प्रतियोगितामा सुशान्त पराजुली प्रथम, इन्जिनियर प्रदिप सिग्देल द्वितीय र संगीता गौतम तृतीय भएका थिए । सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश नगद २५ हजार, नगद १५ हजार र नगद १० हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै बीपीबाट आजका युवाले के सिक्ने ? विषयक वक्तित्वकला प्रतियोगितामा १२ जना विद्यार्थी सहभागी थिए । सो प्रतियोगितामा एसओएसकि प्रेरिका बराल प्रथम , लक्ष्मी आदर्श माविकि सम्झना बेलवासे द्वितीय , एसओएसकै अनुजा गौतम तृतीय र रामज्योति माविकि स्वेच्छा परियार सान्त्वना भएका थिए । बीपी स्मृति दिवसका सन्दर्भमा आयोजित विशेष कार्यक्रममा उनीहरूको प्रस्तुतिलाई स्थान दिइएको थियो। सो प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश नगद १० हजार, नगद ८ हजार , नगद ५ हजार र नगद २ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बीपीले देश र जनताको पक्षमा निडर भएर काम गरेको उल्लेख गरे। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य विष्णुदेवी पाण्डेले बीपीका विचार र सिद्धान्तलाई अनुसरण गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरिन्। नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेता धर्म अधिकारीले बीपीको राजनीतिक क्षेत्र र साहित्यकार सञ्जीव पौडेलले साहित्य क्षेत्रसँग सम्बन्धित विषयवस्तुबारे चर्चा गरेका थिए । नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिका प्रवक्ता धनञ्जय पौडेलले कास्कीमा जरा अभियानका क्रममा अध्यावधिक क्रियाशील सदस्यताको अवस्थाका बारेमा प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले गरेका थिए भने उपसभापति युवराज कुँवरले धन्यवाद ज्ञापन गरेका थिए ।