
दीननाथ बराल,
पोखरा, ५ साउन,
दैनिक चारदेखि पाँच हजार यात्रुको आवागमन हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सहज आवतजावतका लागि सञ्चालन गरिएको सटल बस सेवाले अपेक्षित साथ पाउन सकेको छैन्। तीन महिनासम्म निःशुल्क रूपमा परीक्षण गरिएको सेवा साउन १ गतेदेखि सःशुल्क बने पनि यात्रु सहभागिता अत्यन्त न्यून देखिएको हो ।
पोखरा महानगरपालिका र पोखरा बस सेवा प्रालिबीचको सहमतिअनुसार हाल विमानस्थलबाट दुईवटा ननस्टप सटल बस नियमित सञ्चालनमा छन्। एउटा बस विमानस्थल–विरौटा–लेकसाइड र अर्को विमानस्थल–पृथ्वीचोक–हल्लनचोक रुटमा चलिरहेको छ। दुवै बसको भाडा प्रतियात्रु १०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले पोखराक्लिकलाई जनाएको छ । तर सेवा सुरु भएको पन्ध्र दिन नपुग्दै यसको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ। पोखरा बस सेवा प्रालिका अध्यक्ष देउप्रसाद गुरुङका अनुसार सोमबार एउटा बसबाट करिब १ हजार ६ सय रुपैयाँ र अर्कोबाट १ हजार २ सय रुपैयाँ मात्रै आम्दानी भयो। ३२ सिट क्षमताका अत्याधुनिक विद्युतीय बस सञ्चालनमा रहे पनि दैनिक १२ देखि १६ जना यात्रु मात्र बस चढ्ने गरेका छन्।
अध्यक्ष गुरुङले प्रचारप्रसार कमजोर हुँदा यात्रुसम्म सेवाको जानकारी पुग्न नसकेको बताए। “यात्रु संख्या यस्तै रहने हो भने सेवा धान्न गाह्रो हुन्छ। अब साउनको पहिलो पन्ध्र दिनको अवस्था हेरेर अर्को निर्णय गर्नुपर्ने अवस्था आउन सक्छ”उनले भने। महानगरपालिकाले भने सटल बस सेवा बन्द नभएको जनाएको छ। पोखरा महानगरका मेयर धनराज आचार्यले विमानस्थल प्रयोग गर्ने यात्रुलाई भरपर्दो र सहज सार्वजनिक यातायात उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको योजना अहिले पनि निरन्तर रहेको दाबी गरे । उनले नयाँ आयात गरिएका विद्युतीय बस भन्सार जाँचपास प्रक्रियामा रहेकाले हालका लागि पोखरा बस सेवा प्रालिसँग रहेका सुविधासम्पन्न बसमार्फत सेवा सञ्चालन गरिएको उल्लेख गरे ।
यसअघि नेपाली नयाँ वर्षको अवसर पारेर महानगरले महानगर यातायात प्रालि, कामना सेवा विकास बैंक र कृषि विकास बैंकको सहकार्यमा असार मसान्तसम्म निःशुल्क सटल बस सेवा सञ्चालन गरेको थियो। परीक्षण अवधिपछि साउनदेखि सोही सेवा सशुल्क रूपमा निरन्तर सञ्चालनमा ल्याइएको हो। उक्त सटल बस सेवा संचालन गरे वापतको शुल्क समेत तिरिसकेको मेयर आचार्यले पोखराक्लिकलाई जनाए ।महानगरले पोखरालाई स्मार्ट सिटी र हरित सहर बनाउने लक्ष्यअनुसार विद्युतीय सार्वजनिक यातायात विस्तार गरिरहेको जनाएको छ। विमानस्थल र सहरबीच सहज पहुँच विस्तार गर्नुका साथै महँगो ट्याक्सी भाडाको विकल्प उपलब्ध गराउने उद्देश्यले सटल बस सेवा सञ्चालनमा ल्याइए पनि यात्रुको न्यून उपस्थितिका कारण यसको दीर्घकालीन सञ्चालन चुनौतीपूर्ण बन्न थालेको छ।




