
दीननाथ बराल,
पोखरा २, साउन,
पोखराको सेतीनदी प्रायः पोखराको रामघाटदेखि लुकेर जमिन मुनिबाट रातोपहिरो क्षेत्रमा देखिने गरेको छ । केही दिनदेखि परेको बर्षादका कारण यतिवेला सेतीनदीमा दुर्लभ दृश्य देखिएको छ त्यो हो करिब ५० मिटर माथिबाट पानीको बहाब खसेर झर्ना बनेको छ ।
५० औं बर्षदेखि सेतीनदीमा बाढी आउने गरे पनि हालको अबस्था भने पहिलो पटक देखेको स्थानियले पोखराक्लिक समक्ष गुनासो गर्नु भएको छ । पोखरा महानगरपालिका–१५ र १७ को सीमामा पर्ने रातोपहिरा क्षेत्रमा करिब दुई महिनाअघि गएको सुख्खा पहिरोका कारण सेती नदीको बहाव आंशिक रूपमा अवरुद्ध भएपछि त्यहाँ प्राकृतिक झरनाजस्तो दृश्य देखिएको स्थानीय भगवान पोखरेलले बताउनु भयो । नदी थुनिँदा ठूलो जलाशयसमेत बनेको भन्दै उहाँले सम्भावित विपद्को जोखिमप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायसँग तत्काल स्थलगत अध्ययन, नियमित अनुगमन र आवश्यक सुरक्षा तयारी गर्न आग्रह गर्नुभयो ।

सुख्खा पहिरोले नदीको बहाव रोकिएपछि करिब ५० मिटर माथिसम्म पानीको बहाब पुगेर पानी झर्नाको रुपमा खसेको स्थानीय पोखरेलले बताउनु भयो । सेतीनदीमा पानीको बहाब बढ्नु, नदीको पानी थुनिनुले ताल बनेको जलाशय एकैपटक फुटे तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने भन्दै उहाँले समयमै जोखिम मूल्याङ्कन र आवश्यक व्यवस्थापन गर्नुपर्ने माग गर्नुभयो । स्थानीय तथा पत्रकार हरि बस्तोलाले पहिरो थुनिएको क्षेत्रको दायाँ–बायाँ भाग अझै बिस्तारै भासिने र थप पहिरो खस्ने क्रम जारी रहेको बताउनु भयो । थुनिएको भाग अचानक भत्किने वा थप पहिरो खस्ने जोखिम बढाएको उहाँले जनाउनु भयो । स्थानीयवासीका अनुसार नदी थुनिएपछि बनेको जलाशयका कारण आसपासको भू–भाग पनि कमजोर बन्दै गएकोले त्रसित हुनु भएको छ । सेती नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न आग्रह गरिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले रातोपहिरा क्षेत्रमा सेती नदीको केही भाग थुनिँदा पानीको सतह बढेको विषयमा जिल्ला प्रशासनको ध्यानाकर्षण भएको बताउनु भयो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत सुरक्षा निकायसँग छलफल गरी आवश्यक व्यवस्थापनका लागि छिट्टै पहल गरिने उहाँले जनाउनु भयो । शनिबार बिहान सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले घटनास्थल पुगेर प्रारम्भिक अवलोकन समेत गरेको छ । निरन्तर वर्षाका कारण विस्तृत अध्ययनपछि आवश्यक निर्णय लिइने बताउँदै प्रजिअ गुरुङले स्थानीयलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो ।
पृथ्वीनारायण क्याम्पस, पोखराका भूगोल विभाग प्रमुख डा. रामजीप्रसाद पोखरेलले सेती नदीमा पानी थुनिएर जलाशय बन्नु नजिकका बस्तीका लागि गम्भीर जोखिमको संकेत भएको बताउनु भयो । तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै आवश्यक परे जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने तयारीसमेत गर्नुपर्ने उहाँको सुझाव छ । धर्तीफाँट क्षेत्रमा पनि पानीको सतह बढे त्यहाँको माटो पानीमा सजिलै घुल्ने प्रकृतिको भएकाले थप जोखिम उत्पन्न हुन सक्ने भूगोलविद पोखरेलले बताउनु भयो । “पोखरा जति प्राकृतिक रूपमा सुन्दर छ, त्यति नै भू–जोखिमको दृष्टिले संवेदनशील पनि छ । केही क्षेत्रमा वर्षापछि माटो घुल्ने, धर्ती फाट्ने र भ्वाङ पर्ने समस्या देखिने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अपनाउनुपर्छ,” डा. पोखरेलले भन्नु्भयो ।
यस्तै, भूगोलविद् डा.कृष्ण केसीले ढुंगेसाँघु आसपासको माथिल्लो क्षेत्रमा जमिन भासिने र सेती नदीको डिल खस्ने समस्या पहिलेदेखि नै देखिँदै आएको पोखराक्लिकलाई बताउनु भयो । रातोपहिरामा गएको पहिरोका कारण बनेको ठूलो जलाशयले नदी किनारका बस्तीलाई थप जोखिममा पारेको हुन सक्ने बताउदै उहाँले नदीको प्राकृतिक बहाव अवरुद्ध हुँदा पानीले वैकल्पिक मार्ग खोज्ने क्रममा पोखराको चुनढुंगायुक्त तथा कमजोर भू–संरचनाभित्र पानी पस्न सक्ने, जसले भ्वाङ पर्नेदेखि थप भूक्षयसम्मका जोखिम बढाउन सक्ने जनाउनु भयो। त्यसैले जोखिमयुक्त नदी किनारका बस्तीमा नियमित निगरानी, विपद् व्यवस्थापन टोलीको परिचालन तथा आवश्यक परे तत्काल स्थानान्तरणको तयारी गर्नुपर्ने उहाँको सुझाव छ । डा.केसीले पोखरा महानगरपालिकाले यस्ता भू–जोखिम र विपद् व्यवस्थापनका चुनौतीबारे पर्याप्त बहस, अध्ययन र दीर्घकालीन योजना अघि नबढाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।






