
दीननाथ बराल,
पोखरा, साउन २,
पोखराका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा चोरीका घटनामा संलग्न भएको आरोपमा कास्की प्रहरीले विदेशी सहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट २५ तोलाभन्दा बढी सुनका गरगहना, ९ थान मोबाइल, एक थान ल्यापटप, एक थान स्मार्ट घडीको साथमा नगद दुई लाख एक हजार दुई सय २० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेकाविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी विरेन्द्रक्ुमार पासवानले बताउनु भयो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको विशेष प्रहरी टोलीले चोरीका घटनाबारे सूक्ष्म अनुसन्धान तथा निगरानी गर्ने क्रममा गिरोहलाई चोरीका सामानसहित पक्राउ गर्न सफल भएको उहाँको भनाई छ । पछिल्लो समय पोखरा महानगरपालिका क्षेत्रमा चोरीका घटना बढ्दै गएको सूचनापछि प्रहरीले विशेष निगरानी थालेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) पासवानले बताउनु भयो । अनुसन्धानका क्रममा एउटै गिरोहले विभिन्न स्थानमा योजनाबद्ध रूपमा चोरी गर्दै आएको खुलेको उहाँले जानकारी दिनुभयो । गिरोहले असार ४ गते पोखरा–१७ छोरेपाटनस्थित शिवप्रसाद बरालको घरबाट करिब आधा तोला सुनका गरगहना, एक लाख ५० हजार रुपैयाँ नगद, एक थान ल्यापटप र एक थान मोबाइल चोरी गरेको प्रहरीले जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ । यस्तै, असार १४ गते राति पोखरा–१८ मणिमार्गस्थित हेमराज गिरीको घरबाट करिब २५ तोला बराबरका सुनका गरगहना र ७० हजार रुपैयाँ नगद चोरी भएको थियो ।
त्यसैगरी असार १५ गते पोखरा–१८ भकुण्डेस्थित गिरीधारी श्रेष्ठको घरबाट दुई थान मोबाइल र एक तोला ५४ लाल बराबरका सुनका गरगहना चोरी गरिएको प्रहरीले जनाएको छ । असार २३ गते पोखरा–८ ज्ञानकुञ्ज मार्गस्थित इरानी नागरिक मोहसेन खातमी बस्ने कोठाबाट एक थान मोबाइल र २५ हजार रुपैयाँ नगद चोरी भएको थियो भने सोही रात पोखरा–६ लेकसाइडस्थित हिरामणी लामिछानेको घरबाट आइफोनसहित अन्य सामग्री चोरी गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका २३ वर्षीय राहुल निषाद, भारत महाराष्ट्रका ४० वर्षीय सोमनाथ हनुमन्त जाधव, चीनको गुइझाउका ३० वर्षीय वेन जिए र चीनको सान्दोङका ३७ वर्षीय वाङ लियानयिन रहनु भएको छ । त्यस्तै, स्याङ्जा चापाकोट–३ का ४२ वर्षीय राजकुमार बिक, कास्की अन्नपूर्ण गाउँपालिका–७ का ५० वर्षीय राजु केसी भन्ने खिमबहादुर क्षेत्री, अर्घाखाँची भूमिकास्थान–३ का २९ वर्षीय अशोक पोख्रेल, पोखरा महानगरपालिका–१६ का ५१ वर्षीय केशव पाइजा मगर तथा बागलुङ नगरपालिका–१२ का २७ वर्षीय अनिल बिक पनि पक्राउ पर्नु भएको छ ।
डीएसपी पासवानका अनुसार बरामद भएका सामानहरू सम्बन्धित पीडितसँग मिलान गर्ने तथा गिरोहको संलग्नतामा अन्य चोरीका घटनासमेत भएको हुनसक्ने भएकाले अनुसन्धानलाई थप विस्तार गरिएको छ । अन्य व्यक्तिको संलग्नता खुलेमा उनीहरूलाई पनि कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ । पछिल्ला केही सातायता पोखरामा घर तथा डेरा लक्षित चोरीका घटना बढिरहेका बेला ठूलो गिरोह पक्राउ परेसँगै यस्ता घटनाको अनुसन्धानमा महत्वपूर्ण सफलता मिलेको प्रहरीको दाबी छ ।






