देवघाटबाट सम्पर्कविहीन भएकी बन्दीपुरकी सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला, रहस्यमय घटनाको सत्यतथ्य छानबिन गर्न माग

-


     पोखरा क्लिक     
     श्रावण २ गते २०८३ मा प्रकाशित


पोखरा,

देवघाट क्षेत्रबाट केही दिनदेखि सम्पर्कविहीन रहेकी बन्दीपुर गाउँपालिका–४, टुँडिखेल निवासी सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला परेकी छन्। उनको शव नेपाल–भारत सीमावर्ती त्रिवेणी क्षेत्रअन्तर्गत भारतको उत्तर प्रदेशतर्फ भेटिएको पुष्टि भएको छ। यो घटनाले परिवार, आफन्त, स्थानीयवासी तथा शुभेच्छुकलाई गहिरो शोकमा डुबाएको छ।

बन्दीपुर गाउँपालिका–४ का वडा अध्यक्ष दानबहादुर थापा मगरका अनुसार सन्तोषी विगत केही वर्षदेखि चितवनमा स्टाफ नर्सका रूपमा कार्यरत थिइन् र गैंडाकोटमा डेरा गरी बस्दै आएकी थिइन्। परिवारका अनुसार असार १४ गते साँझ करिब ८ बजे उनी आफ्नै स्कुटर लिएर कोठाबाट निस्किएकी थिइन्। त्यसपछि उनी परिवारको सम्पर्कमा आइनन्। खोजीका क्रममा उनको स्कुटर तनहुँ–चितवनको सीमास्थित देवघाटको हनुमानचोकमा बेवारिसे अवस्थामा फेला परेको थियो। त्यसपछि नेपाल प्रहरी, स्थानीयवासी र विभिन्न निकायले नदी आसपासका क्षेत्रमा निरन्तर खोजी अभियान सञ्चालन गरेका थिए।

यसैबीच असार १७ गते त्रिवेणीभन्दा पारि भारतीय क्षेत्रमा एक महिलाको शव फेला परेको भए पनि तत्काल पहिचान हुन सकेको थिएन। कानुनी प्रक्रिया पूरा गरी भारतीय पक्षले शवको व्यवस्थापन गरिसकेको थियो। पछि भारतीय प्रहरीले सुरक्षित राखेको फोटो तथा भिडियो, साथै हराएको दिन सन्तोषीले लगाएको कपडा, हातको औँठी र कानमा लगाएको रिङका आधारमा आफन्तले शव सन्तोषीकै भएको पुष्टि गरेका हुन्। शव भारतमै व्यवस्थापन भइसकेकाले हिन्दू धार्मिक परम्पराअनुसार परिवारले देवघाटधाममा सांकेतिक रूपमा अन्त्येष्टि तथा उत्तरक्रियाका धार्मिक संस्कार सम्पन्न गरेको पोखराक्लिकलाई श्रोतले जनाएको छ । वडा अध्यक्ष थापा मगरले घटनालाई अत्यन्त रहस्यमय भएको उल्लेख गर्दै यसको सत्यतथ्य बाहिर ल्याउन सुरक्षा निकायले निष्पक्ष र गहिरो अनुसन्धान गर्नुपर्ने माग गरे। उनले सन्तोषीको मृत्युको वास्तविक कारण पत्ता लगाई दोषी भए कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार आग्रह गरेका छन्। यस घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न उनका आफन्त र स्वास्थ्यकर्मीले माग गरेका छन् ।