
२९ जेठ, कोलकता,
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० गण्डकी प्रदेशले भारतको कोलकातामा आयोजना गरेको ‘पोखरा–नेपाल प्रवर्द्धन अभियान २०२६’ अन्तर्गतको बी–टु–बी नेटवर्किङ कार्यक्रमले पोखरा र कोलकाताबीच पर्यटन सहकार्यको नयाँ आधार तयार गरेको छ । कार्यक्रममा सहभागी भारतीय पर्यटन व्यवसायीहरूले पोखरालाई दक्षिण एसियाकै उत्कृष्ट पर्यटन गन्तव्यमध्ये एक भएको बताउँदै आगामी दिनमा थप भारतीय पर्यटक नेपाल पठाउने प्रतिबद्धता जनाएका छन् ।

पछिल्ला केही वर्षयता भारतीय पर्यटकको प्रमुख रोजाइ पोखरा बनिरहेको छ । यतिबेला भारतीय पर्यटकले पोखरा भरिन थालेको छ । धार्मिक, प्राकृतिक र साहसिक पर्यटनका कारण भारतीय बजारमा पोखराको आकर्षण बढिरहेका बेला नाट्टा गण्डकी प्रदेशले भारतको कोलकातामा बी–टु–बी ९बिजनेस टु बिजनेस० कार्यक्रम गरेको हो । भारतीय टुर अपरेटरहरूले पोखरा, मुक्तिनाथ, अन्नपूर्ण क्षेत्र र गण्डकी प्रदेशका अन्य पर्यटकीय गन्तव्यलाई आफ्ना ग्राहकसम्म पुर्याउने प्रतिबद्धता जनाए । ुगर्मीमे चलो पोखराु भन्दै नाट्टा गण्डकी पुगेको हो ,

नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालको अध्यक्षतामा भएको कार्यक्रममा कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्यले पर्यटन केवल भ्रमणको विषय नभई नेपाल र भारतबीचको मित्रता, संस्कृति र आर्थिक समृद्धिको पुल भएको बताए । पश्चिम बंगाल र नेपालबीचको भौगोलिक निकटता, सांस्कृतिक समानता तथा ऐतिहासिक सम्बन्धले पर्यटन विस्तारका लागि बलियो आधार तयार गरेको उल्लेख गर्दै उनले पोखरालाई दक्षिण एसियाकै उत्कृष्ट पर्यटन गन्तव्यमध्ये एक भएको उनको भनाइ थियो । उनले यस्ता कार्यक्रमले दुई देशबीचको पर्यटन, व्यापार र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
नाट्टा गण्डकीका अध्यक्ष दाहालले पोखरा र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे भारतीय व्यवसायीमा उत्साहजनक चासो देखिएको उल्लेख गर्दै उनले यस कार्यक्रमले भारतीय पर्यटक आगमन थप बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रम संयोजक संगीता पौडेलले कोलकाता र पश्चिम बंगाल नेपालको पर्यटनका लागि अत्यन्त सम्भावनायुक्त बजार रहेको बताइन् । भारतीय पर्यटन व्यवसायीसँग प्रत्यक्ष संवाद र नेटवर्क विस्तारले भविष्यमा थप व्यवसायिक सहकार्यको ढोका खोल्ने उनको भनाइ थियो । पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नाट्टाका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा र कोलकाताबीचको सम्बन्ध केवल पर्यटनमा सीमित नरही सांस्कृतिक र जनस्तरको सम्बन्धसँग पनि जोडिएको बताए । पोखरा–कोलकाता सिधा हवाई उडान सञ्चालन गर्न सके दुवै सहरले ठूलो लाभ लिन सक्ने धारणा उनले राखे ।
नाट्टा गण्डकीका द्वितीय उपाध्यक्ष तथा कार्यक्रम उपसंयोजक राजेश पहारीले नेपाल–भारत सडक सञ्जालमा पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार भएको बताए । भारतबाट पोखरा आउन चाहने पर्यटकले भाडाका गाडी प्रयोग गरेर वा आफ्नै निजी सवारी साधन चलाएर समेत सहज रूपमा पोखरा पुग्न सक्ने अवस्था बनेको उनले उनको भनाइ थियो । यसले भारतीय पर्यटकलाई थप आकर्षित गर्ने उनले बताए । कार्यक्रममा ईटीएए इस्टर्न च्याप्टरका अध्यक्ष कौशिक बनर्जीले पोखरा भारतीय पर्यटकका लागि अत्यन्त आकर्षक गन्तव्य भएको बताए । उनले पश्चिम बंगालका पर्यटन व्यवसायी र नाट्टा गण्डकीबीचको सहकार्यले आगामी दिनमा पर्यटक आदान–प्रदान बढाउने विश्वास व्यक्त गरे। नेपाल र भारतबीचको खुला सीमा, सांस्कृतिक निकटता र छोटो दूरीले पर्यटन व्यवसाय विस्तारका लागि ठूलो अवसर सिर्जना गरेको उनको भनाइ थियो ।
कार्यक्रममा टूर अपरेटर्स वेलफेयर एसोसिएसन, इन्डियन एसोसिएसन अफ टुर अपरेटर्स, ट्राभल एजेन्ट्स एसोसिएसन अफ बंगाल, एसोसिएसन अफ बुद्धिस्ट टुर अपरेटर्स तथा एसोसिएसन अफ टुरिजम सर्भिस प्रोभाइडर्स अफ बंगालका प्रतिनिधिहरूको सहभागिता थियो ।
कार्यक्रमका सहभागीहरूले पोखरा–कोलकाता सिधा हवाई उडान सञ्चालन भए पश्चिम बंगाल, बिहार, झारखण्ड तथा उत्तर–पूर्वी भारतबाट पोखरामा पर्यटक आगमन उल्लेखनीय रूपमा बढ्ने धारणा व्यक्त गरेका थिए । उनीहरूले पोखरा, मुक्तिनाथ, लुम्बिनी, चितवन र अन्नपूर्ण क्षेत्रलाई समेटेर संयुक्त पर्यटन प्याकेज निर्माण तथा प्रवर्द्धनमा सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएको महासचिन चेतन कार्कीले जानकारी दिए । कोलकातामा सम्पन्न यो कार्यक्रमले पोखरा र पश्चिम बंगालबीच पर्यटन सहकार्यको नयाँ अध्याय सुरु गरेको पर्यटन व्यवसायीहरूको निष्कर्ष छ । प्रत्यक्ष संवाद, प्याकेज आदान–प्रदान र व्यवसायिक साझेदारीले आगामी दिनमा भारतीय पर्यटकलाई पोखरातर्फ थप आकर्षित गर्ने अपेक्षा गरिएको छ ।





