
पोखरा, जेठ ३०,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको नेतृत्वमा परिवर्तन आएको छ । प्रदेश समितिका निवर्तमान महासचिव नवीन त्रिपाठीले बहालवाला सभापति राजन गौतमलाई पराजित गर्दै गण्डकी प्रदेश सभापतिको जिम्मेवारी हात पार्न सफल भएका छन्।
प्रथम प्रदेश अधिवेशनअन्तर्गत शुक्रबार राति सम्पन्न मतदानको मतगणना शनिबार बिहान सकिँदा त्रिपाठीले २ सय ३४ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी तथा निवर्तमान सभापति गौतमले १ सय ८२ मतमा सीमित हुनुपरेको थियो। यससँगै त्रिपाठीले ५२ मतको स्पष्ट अन्तरसहित पहिलो चरणमै विजय सुनिश्चित गरेका हुन्। उनीहरुको ४ बर्षीय कार्यकाल हुने छ ।
सभापतिका अन्य उम्मेदवार माधवप्रसाद कँडेलले ११ मत र हरिबहादुर कार्कीले २ मत प्राप्त गरेका थिए भने ३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। रास्वपाको विधानअनुसार सभापतिमा निर्वाचित हुन कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ, जुन मत त्रिपाठीले सहज रूपमा प्राप्त गरेका हुन्। पार्टी संगठनमा लामो समयदेखि सक्रिय त्रिपाठी यसअघि प्रदेश महासचिवको भूमिकामा थिए। अधिवेशनअघि नेतृत्व फेरबदलको सम्भावना चर्चा भइरहेका बेला प्रतिनिधिहरूले नयाँ नेतृत्वका रूपमा त्रिपाठीमाथि विश्वास व्यक्त गरेका छन्।
गण्डकी प्रदेश समितिका विभिन्न सदस्य पदका लागि पनि निर्वाचन सम्पन्न भएको छ। ५१ जनाको उम्मेदवारी परेको सदस्य पदमा विभिन्न क्लस्टरबाट ३३ जना निर्वाचित हुने व्यवस्था रहेको छ। तीमध्ये १२ जना निर्विरोध चयन भइसकेका छन् भने बाँकी पदको टुंगो निर्वाचनमार्फत लगाइएको छ। रास्वपाका अनुसार अधिवेशनमा ७ सय ३५ प्रतिनिधिको सहभागिता रहेको रास्वपा नेता योगेन्द्र बहादुर केसीले पोखराक्लिकलाई जनाए । अधिवेशनको उद्घाटन पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी ले गरेका थिए।





