गण्डकीमा राइड सेयरिङको भाडादर निर्धारण, चारपांग्रेको न्यूनतम भाडा १५७ र दुईपांग्रेको ४६.५० रुपैयाँ

-


     पोखरा क्लिक     
     जेठ १७ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १७ जेठ,

गण्डकी प्रदेशमा राइड सेयरिङ एपलाई कानुनी मान्यता दिएर कार्यान्वयनको चरणमा ल्याएको छ । गण्डकी प्रदेशमा अब चारपांग्रे सवारी प्रयोग गर्ने यात्रुले चढ्नासाथ १५७ रुपैयाँ सुरुवाती भाडा तिर्नुपर्नेछ भने दुईपांग्रेको ४६.५० रुपैयाँया शुल्क तिर्नुपर्ने भएको प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेश राईड सेयरिङ (नियमन र व्यवस्थापन) (दोस्रो संशोधन) नियमावली, २०८३ को नियम १९ बमोजिम भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मिति २०८३÷०२÷११ (मन्त्रीस्तरीय) को निर्णयानुसार मिति २०८३÷०२÷११ देखि लागू हुने गरी भाडादर कायम भएकोले सम्बन्धित सबैको जानकारीका लागि मन्त्रालयले जेठ १२ गते सूचना प्रकाशन गरेको मन्त्रालयका उपसचिव दिनेश आचार्यले बताउनु भयो । एक महिना भित्र राइड शेयरिङ एप संचालन गर्ने सवारी साधनहरुले अनिवार्य रुपमा इजाजत लिनुपर्ने अन्यथा कुनै समयमा कार्वाही हुने चेतावनी दिनुभयो । हालको अबस्थामा कालो प्लेटका ट्याक्सीहरुले एप मार्फत संचालन गर्न सक्नेछन भने रातो प्लेटका चार पाङग्रे सवारी साधनहरुले भने अहिलेको अबस्थामा यात्रु वोक्ने गरी कुनै एप समेत संचालन गर्न नपाउने मन्त्रालयले जनाएको छ ।

दुई किलोमिटरसम्मको आधारभूत भाडा ९७ रुपैयाँ तोकिएको छ । यसरी कुनै पनि दूरीको यात्रा गर्दा चारपांग्रे सवारीको न्यूनतम भाडा १५७ रुपैयाँ कायम गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । मन्त्रालयले हालै ‘राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली’ दोस्रोपटक संशोधन गरेपछि सोही नियमावलीको व्यवस्था अनुसार जेठ ११ गते मन्त्रीस्तरीय निर्णयबाट भाडादर कायम गरिएको जनाएको छ । नयाँ व्यवस्थाअनुसार राइड सेयरिङमार्फत चारपांग्रे सवारी प्रयोग गर्ने यात्रुले चढ्नासाथ ६० रुपैयाँ सुरुवाती भाडा तिर्नुपर्नेछ । त्यसबाहेक दुई किलोमिटरसम्मको आधारभूत भाडा ९७ रुपैयाँ तोकिएको छ । यसरी कुनै पनि दूरीको यात्रा गर्दा चारपांग्रे सवारीको न्यूनतम भाडा १५७ रुपैयाँ शुल्क लाग्ने भएको हो ।

यात्रुले जतिसुकै छोटो दूरीको यात्रा गरे पनि दुई किलोमिटर बराबरको आधारभूत भाडा अनिवार्य रूपमा तिर्नुपर्ने भएको छ । दुई किलोमिटरपछि भने प्रत्येक थप किलोमिटरका लागि चार पाङग्रे सवारी साधनको लागि ४८ रुपैयाँ ५० पैसा भाडा लाग्ने व्यवस्था गरिएको छ । यही दरका आधारमा चारपांग्रे सवारीमार्फत १० किलोमिटर यात्रा गर्दा यात्रुले ५४५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । राइड सेयरिङ सेवामार्फत चारपांग्रे सवारीको अधिकतम यात्रा दूरी ५० किलोमिटर निर्धारण गरिएको छ । प्रारम्भिक प्रस्तावमा यो सीमा २० किलोमिटर मात्र राखिएको थियो ।
सरकारले सार्वजनिक गरेको यो भाडादर पेट्रोलबाट चल्ने चारपांग्रे सवारीका लागि लागू हुने जनाएको छ । नियमावलीले ट्याक्सीलाई समेत राइड सेयरिङ सेवामा समेट्ने बाटो खुला गरे पनि अन्य प्रकारका चारपांग्रे निजी सवारीको हकमा भने स्पष्ट व्यवस्था गरिएको छैन । यात्रुलाई राहत दिने उद्देश्यले सरकारले अनिवार्य छुटको व्यवस्था पनि गरेको छ । मन्त्रालयका अनुसार पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनले कम्तीमा १० प्रतिशत र विद्युतीय सवारीले १५ प्रतिशतसम्म छुट उपलब्ध गराउनुपर्ने जनाएको छ । राइड सेयरिङ सेवा प्रदायक कम्पनीहरूले भाडादर र छुट सम्बन्धी विवरण आफ्नो एपमै स्पष्ट देखाउनुपर्ने व्यवस्था गरिएको छ । तोकिएको भाडाबाहेक यात्रुसँग कुनै पनि अतिरिक्त शुल्क असुल्न नपाइने मन्त्रालयले चेतावनी दिएको छ ।

दुईपांग्रे सवारीको हकमा सुरुवाती भाडा ३० रुपैयाँ तोकिएको छ भने प्रतिकिलोमिटर १६ रुपैयाँ ५० पैसा दर कायम गरिएको छ । आधारभूत दुई किलोमिटरको दूरीका लागि यात्रुले न्यूनतम ४६ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । अर्थात् दुई किलोमिटरभन्दा कम दूरीको यात्रा भए पनि एपले सोभन्दा कम भाडा देखाउने छैन । प्रदेश सरकारले नयाँ भाडा संरचनाले राइड सेयरिङ सेवालाई थप व्यवस्थित, पारदर्शी र यात्रुमैत्री बनाउने विश्वास व्यक्त गरेको छ । साथै भाडादर, छुट र शुल्कसम्बन्धी सबै जानकारी डिजिटल प्रणालीमै देखिने भएकाले यात्रु र सेवा प्रदायकबीच हुने विवादसमेत न्यून हुने अपेक्षा गरिएको छ । तष्विर एआई जेनेरेट