
पोखरा,
विश्वभर इन्टरनेटको बढ्दो पहुँचसँगै नेपालमा पनि अनलाइनमार्फत बालबालिकामाथि हुने यौन दुर्व्यवहार, शोषण र हिंसाका घटना बढ्दो क्रममा छन्। यसै सन्दर्भमा भ्वाईस अफ चिल्ड्रेनले आइतबार पोखरामा आयोजना गरेको अन्तरक्रियामा सञ्चारकर्मीको भूमिका र बालअधिकार प्रवर्द्धनमा उनीहरूको योगदानबारे चर्चा गरिएको हो ।
कार्यक्रममा सहभागीहरूले बालबालिकालाई सुरक्षित डिजिटल वातावरण प्रदान गर्न समाजका सबै तहका सरोकारवालाको योगदान आवश्यक रहेकोमा जोड दिएका छन्। बालबालिकालाई मात्र होइन, अभिभावक, शिक्षक, नीति निर्माता, न्यायिक निकाय, सेवा प्रदायक, व्यवसायिक संस्था तथा गैरसरकारी संघसंस्थाले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा बल दिइएको थियो। नेपालले सन् १९८९ मा संयुक्त राष्ट्रसंघीय बालअधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेको ३७ वर्ष बितिसकेको छ। नेपालको संविधान २०७२, बालबालिका सम्बन्धी ऐन २०७५ र नियमावली २०७८ लगायतका कानुन तथा निर्देशिकाहरू भए पनि प्रभावकारी कार्यान्वयनको अभावका कारण बालबालिकामाथि हुने यौन दुर्व्यवहार, हिंसा र बेचबिखनजस्ता घटनाहरू अझै बढिरहेका छन्।
सन् २०८१र८२ मा नेपाल प्रहरी साईबर ब्यूरोका तथ्यांक अनुसार ७७२ बालबालिका साइबर अपराधमा परेका थिए। अधिकांश घटना फेसबुकमार्फत भएको पुष्टि भएको छ। भ्वाईस अफ चिल्ड्रेनको अध्ययनअनुसार १३–१८ वर्षका बालबालिकामध्ये ९७ प्रतिशतले इन्टरनेट पहुँच भएको भ्वाईस अफ चिल्ड्रेनका उप निर्देशक राजु घिमिरेले बताए। यिनै बालबालिकामध्ये धेरैले यौनजन्य सन्देश, अश्लील फोटोरभिडियो तथा अन्य अनलाइन दुर्व्यवहारको अनुभव गरेका छन्। अभिभावकहरूमध्ये अधिकांशले अनलाइन बाल यौन दुर्व्यवहारको थोरै जानकारी मात्रै राखेको र कानुनी प्रक्रिया, डिजिटल साक्षरता तथा सुरक्षासम्बन्धी ज्ञान पर्याप्त नभएको बताएका छन्। कार्यक्रमका वक्ताहरूले बालबालिकाको सुरक्षित इन्टरनेट प्रयोगका लागि राज्यको नीति निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको र सञ्चारकर्मीले बालअधिकार संरक्षणमा अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव जमुना बर्षा शर्मा, पत्रकार गंगाधर पराजुली, केशवशरण लामिछाने, बासुदेव पौडेल, सन्देस श्रेष्ठ, कमल पौडेल अथक लगायतले बालअधिकार प्रवर्द्धन र अनलाइन यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।





