
दीननाथ बराल,
पोखरा ७, जेठ
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नदी तथा ताल क्षेत्रमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि समुदाय स्तरमा नियमित सचेतना र पूर्वतयारी अत्यावश्यक रहेको बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय कास्की र सुरक्षा निकायहरूको संयुक्त आयोजनामा पोखराको फेवातालमा आज (विहिबार) सम्पन्न कृत्रिम उद्धार अभ्यास कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश प्राकृतिक रुपमा जति सुन्दर र विपदका दृष्टिले पनि उत्तिकै जोखिमपूर्ण क्षेत्र रहेकोले त्यसको न्यूनिकरण र क्षति कम गर्न समुदाय स्तरमा नियमित सचेतना र पूर्वतयारी अत्यावश्यक रहेको उहाँले बताउनु भएको हो ।
उहाँले भन्नुभयो, “विपद् आउने अबस्थामा मानवीय र भौतिक क्षति कम गर्न पूर्वसूचना प्रणाली, प्रभावकारी समन्वय र नियमित अभ्यासले महत्वपूर्ण भूमिका खेल्छ।” मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले विपद् व्यवस्थापन र न्यूनीकरणका कार्यक्रमहरूलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै यहाँका तालहरूले पर्यटन र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पु¥याउने स्मरण गर्नुभयो । उहाँले पर्यटन क्षेत्रको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूको तत्परता र उद्धार क्षमतामा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेश प्राकृतिक रूपमा जति सुन्दर छ, भौगोलिक बनावटका कारण त्यति नै संवेदनशील पनि छ । विविध भूगोल, नदी र तालतलैयाका कारण यहाँ बर्सेनि बाढी, पहिरो, डुबान र हावाहुरीजस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्दो छ ।”
सम्भावित विपद्को समयमा उद्धार कार्यमा खटिने सुरक्षा निकाय र सरोकारवालाहरूको मनोबल उच्च बनाउन यस्ता कृत्रिम अभ्यास प्रभावकारी हुने मुख्यमन्त्री पाण्डेले बताउनु भयो । विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन पूर्व तयारी, प्रतिकार्य योजना, र वैज्ञानिक तथा व्यवहारिक उपायहरू लागू गर्नु आवश्यक भएको उहाँले जनाउनु भयो । यसबाट मानवीय र भौतिक क्षति न्यून गर्न सकिने उहाँले जनाउनु भयो । प्रदेश सरकारले ११ जिल्लाका विपद् उद्धार कोषमा १० लाख रुपैयाँ र प्रदेश विपद् कोषमा १० करोड रुपैयाँ सुनिश्चित गरी राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउन कोष संचालन गरिरहेको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मनसुनको पूर्वसन्ध्यामा पूर्वतयारी र सुरक्षा निकायबीच समन्वयको माध्यमबाट वास्तविक घटनाबाट हुने क्षति न्यूनिकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले फेवातालमा मापदण्ड पालना गरी डुंगा सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो । २०७२÷०७३ देखि हालसम्म फेवातालबाट मात्र ६ सय जनाको उद्धार र ५० जना व्यक्तिको मृत्यु भएको प्रजिअ शर्माले दाबी गर्नु भयो । फेवातालमा मापदण्ड पालना गरी आवश्यक सुरक्षा अपनाउन डुंगा व्यवसयाीहरुलाई उहाँले आग्रह गर्नु भयो । मापदण्ड पालन नगरी फेवातालमा डुंगा संचालन गरेको शर्माले जनाउनु भयो । पश्चिम पृतनापति उपरथी भोलानाथ थापा सहितका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताउनु भयो । विहिबार विहान फिस्टेल गेट, बसुन्धरा पार्क नजिक तथा रानीवनको अगाडी पट्टिको तालको भागमा मोटरवोटको वेगले गर्दा डुंगा पल्टीय पछि नमुना अभ्यास गरी केहीको उद्धार र एक जनाको ८० मिटर गहिराई बाट उद्धार गरिएको अभ्यासमा प्रस्तुतः गरिएको थियो ।




