पोखराबाट भारतसम्म पहिलो सिधा मेडिकल चार्टर उडान

-


     पोखरा क्लिक     
     जेठ ५ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ५, जेठ,

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक भारततर्फ सिधा मेडिकल रेस्क्यू चार्टर उडान भएको छ । श्री एयरलायन्सको डोमेस्टिक विमानले आज दिउँसो ३ः०९ बजे भारतको भोपालस्थित राजा भोज अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले बताउनु भयो ।

मुक्तिनाथ तीर्थयात्राका क्रममा गम्भीर बिरामी परेका भारतीय नागरिक शम्भु दयाल श्रीवास्तवलाई थप उपचारका लागि विशेष मेडिकल चार्टरमार्फत भारत पठाइएको उहाँले जनाउनु भयो । “पोखराबाट भारतसम्म डोमेस्टिक विमानमार्फत गरिएको अन्तर्राष्ट्रिय हवाई उडान पहिलोपटक हो,” प्रवक्ता सुवेदीले भन्नुभयो । उक्त उडानमा बिरामीसहित दुई चिकित्सक, एक स्टाफ नर्स र अन्य सहयोगी गरी ६ जना यात्रु सवार रहनु भएको थियो । करिब दुई घण्टाको यात्रापछि विमान भोपाल अवतरण गर्ने जनाइएको छ । बिरामीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवश्यक स्वास्थ्य सतर्कता अपनाएर उद्धार उडान गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएयता विभिन्न चार्टर तथा विशेष उडान भइरहे पनि भारततर्फको सिधा उडान भने पहिलोपटक भएको हो । नेपालका बुद्ध एयर, यति एयरलायन्स तथा श्री एयरलायन्सजस्ता कम्पनीहरूले डोमेस्टिक विमानमार्फत समेत भारतसम्म अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न अनुमति पाएका छन् । यस उडानसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारको सम्भावना थप बलियो बनेको विश्वास गरिएको छ ।

पोखराबाट भारतसम्म मेडिकल रेस्क्यू चार्टर उडान पहिलो पटक हुनु यसले ठुलो अर्थ राख्ने अध्यागमन कार्यालय, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत हरि बहादुर भुजेलले बताउनु भयो । भारतसम्मको हवाई उडानमा नयाँ ब्रेक थ्रु भएको उहाँले जनाउनु भयो ।