गण्डकी प्रदेशमा खेलकुद–पर्यटनको दिगो विकासका लागि एकिकृत नीति बनाउन मन्त्री शेरचनको माग (भिडियो सहित)

-


     पोखरा क्लिक     
     वैशाख ३१ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ३०, वैशाख,

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले प्रदेशमा खेलकुद र खेल पर्यटनको दिगो विकासका लागि स्पष्ट र एकिकृत नीति आवश्यक रहेकोमा जोड दिनु भएको छ । आज (बुधबार) पोखरामा नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आयोजना गरेको पोखरा स्पोट्र्स टुरिज्म कन्क्लेभ कार्यक्रममा मन्त्री शेरचनले खेलकुद तथा पर्यटन व्यवसायीसँग यस विषयमा एकिकृत सुझाव पेश गर्न आग्रह गर्नु भएको हो ।

मन्त्री शेरचनले ढोरपाटनमा घोडा दौड, स्की खेलको उत्कृष्ट सम्भावना र मुस्ताङमा रहेको गल्फ कोर्षको लागि आवश्यक जग्गा उपलब्ध गराएको खण्डमा आवश्यक भौतिक संरचना निमार्ण गर्न सरकार तयार हरेको बताउनु भयो । उहाँले भन्नुभयो, “नीति र सरकार अविछिन्न छन् । प्रदेशको खेलकुदको विकासका लागि आवश्यक कदम चाल्न सरकार तयार छ।” संघीय सरकारले २ सय वर्ष भित्र २ सय १५ ऐन बन्नुपर्ने लक्ष्य राखेको भए पनि हालसम्म १८४ ऐन मात्रै बनेको अवस्था औँल्याउँदै, प्रदेशमा समयमै ऐन बन्ने सुनिश्चित गर्न संघलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो। साथै, मन्त्री शेरचनले २७ दिनमा ५० भन्दा बढी समूहसँग छलफल गरी सबैको हितका लागि आशावादी भई काम सुरु गर्न आग्रह गर्नुभयो । पोखरामा साहसिक खेलकुदको प्रशस्त सम्भावना रहेको भन्दै मन्त्री शेरचनले प्याराग्लाइडिङ, बन्जीजम्प, जिप लाइन, अल्ट्रालाइट, र्याफ्टिङ जस्ता खेलकुद गतिविधिहरु दिगो रूपमा व्यवस्थापन गर्न आवश्यक नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।

पोखरा स्पोट्र्स टुरिज्म कन्क्लेभको बारेमा चर्चा गर्दै पोखरा विश्व बिद्यालयका उमा सिंह यादवले पोखरा र गण्डकी प्रदेशमा खेल पर्यटनको धेरै सम्भावना रहेकोले यसको नीति स्पष्ट हुनु पर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेसका प्रेस रजिष्टार विमला भण्डारीले प्रदेशमा खेल पर्यटनको सम्भावना सम्बन्धि बहसले अब बन्ने नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले आवश्यक समन्वय अभावमा खेल पर्यटनलाई एकै साथ प्रबद्र्धन गर्न कठिन भएको बताउनु भयो । कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको संस्थागत विकासमा योगदान पु¥याउने पूर्व अध्यक्ष एवं पोखरा स्पोट्र्स अवार्डका संस्थापक सन्देस श्रेष्ठलाई दशौं रारा पोखरा स्पोट्र्स अवार्ड २०८२ को पूर्व अवसरमा सम्मान गरिएको छ । पूर्व अध्यक्ष विनोद लामिछाने, प्रेमरानायण न्यौपाने, एकराज गिरी र दीननाथ बराललाई सम्मानपत्रको साथमा दोसल्ला र माला लगाएर सम्मान गरिएको थियो । सम्मान समारोहमा मन्त्री शेरचन र अध्यक्ष यामबी आस्था मगरले सम्मान गर्नु भएको हो । संस्थाका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पूर्व अध्यक्ष मोहन घले र मञ्च गण्डकीका संस्थापक अध्यक्ष केशव पाठक कार्यक्रममा सहभागि हुनु भएन् ।

नेपाल राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष एवं प्रदेश खेलकुद परिषदका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङ, पोखरा भ्रमण बर्ष कार्यसम्पादन समितिका संयोजक गोपी बहादुर भट्टराइ, अन्तराष्ट्रिय खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरन्जन राजवंशी, स्काई डाईभ पाइलट यशोदा केसी थापाले पोखरा र गण्डकी क्षेत्रमा खेल पर्यटनको सम्भवना र चनौतीको बारेमा चर्चा गर्नु भएको थियो । यसको सहजीकरण भने खेलपत्रकार सन्देस श्रेष्ठले गर्नु भएको थियो । पोखरा पर्यटन परिषदसंगको सहकार्यमा मञ्चले गण्डकी प्रेस रजिष्टारको सहकार्यमा कार्यक्रम आयोजना गरेको महासचिव परशुराम शर्माले बताउनु भयो ।