
पोखरा,
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि पुण्यप्रसाद (सरोज) सिटौलाले उम्मेदवारी दर्ता गराएका छन् । पोखरामा जारी महाधिवेशनमा सिटौलाले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा महासंघका बहालवाला अध्यक्ष विजयबहादुर स्वाँर रहेका छन् भने समर्थकमा महासंघका प्रमुख सल्लाहकार योगेन्द्रनाथ कर्माचार्य रहेका छन् । सिटौला वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्षसमेत हुन् । वैशाख २९ गतेसम्म पोखरामा सञ्चालन हुने महासंघको महाधिवेशनका लागि सिटौलाले ‘शक्तिशाली महासंघ र सुरक्षित लगानी’ भन्ने मूल नारासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले १३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै महासंघलाई राजनीतिक वादविवादभन्दा माथि उठाएर सम्पूर्ण व्यवसायीको साझा र बलियो छाता संगठन बनाउने प्रतिबद्धता जनाएका छन् ।
उनको कार्ययोजनामा यातायात क्षेत्रसँग सम्बन्धित ऐन, नियम तथा नीति निर्माण प्रक्रियामा व्यवसायीको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने, राष्ट्रिय यातायात प्राधिकरण गठनका लागि पहल गर्ने तथा बिमा र सडकमा व्यवसायीले भोग्नुपर्ने झन्झट अन्त्य गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै, कानुनी जटिलता समाधानका लागि बनेका कार्यदलका सुझाव कार्यान्वयन गर्ने, विभिन्न यातायात सम्बद्ध संघ–संस्थालाई एकीकृत गरी बलियो संगठन निर्माण गर्ने तथा सार्वजनिक यातायातको दीर्घकालीन खाका तयार गर्न विज्ञ टोलीमार्फत सरकारलाई सुझाव दिने योजना पनि उनले अघि सारेका छन् ।
यातायात क्षेत्रको सुधार, व्यवसायीको हकहित संरक्षण र लगानी सुरक्षालाई मुख्य एजेण्डा बनाएका सिटौलाको उम्मेदवारीलाई व्यवसायीहरूबीच अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसैबीच, वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार ऐनकुमार साई, महासंघको तृतीय उपमहासचिव पदमा उम्मेदवारी दिएका भानुभक्त बराल चुनावी मैदानमा उत्र्रिएका हुन् । यस अघि शाई बरिष्ठ उपाध्यक्ष, बराल सचिव पदमा एक कार्यकाल रहनु भएको थियो ।




