
पोखरा,
अन्तर्राष्ट्रिय नर्स दिवस २०२६ को अवसरमा पोखरा ११ रानीपौवामा रहेको मेडिप्लस अस्पताल एण्ड ट्रमा सेन्टरले “नर्सिङ ब्रेन ब्याटल – द नाइटिङ्गेल च्यालेन्ज” अन्तर–नर्सिङ विभागीय मेडिकल क्विज प्रतियोगिता आयोजना गर्ने भएको छ । नर्सिङ स्टाफहरूको क्षमता अभिवृद्धि, टीमवर्क सुदृढीकरण, सञ्चार सीप विकास तथा व्यावसायिक ज्ञान विस्तार गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको अस्पतालका प्रमुख सञ्चालन अधिकृत प्रकाश बि.क.ले बताउनु भयो ।
यही वैशाख २९ गते (मे १२) मा हुने प्रतियोगितामार्फत अस्पतालभित्र सिकाइमैत्री, प्रतिस्पर्धात्मक र प्रेरणादायी वातावरण निर्माण गर्ने अपेक्षा गरिएको अस्पतालले जनाएको छ । कार्यक्रममा अस्पतालमा कार्यरत नर्सिङ स्टाफ, चिकित्सक, कर्मचारी तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहनेछ। प्रतियोगितामा मेडिकल तथा क्लिनिकल विषयसँग सम्बन्धित विविध प्रश्नहरू समावेश गरिने भएको छ । यस्ता कार्यक्रमहरूले नर्सिङ पेशामा ज्ञान, दक्षता र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै स्वास्थ्य सेवा गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अस्पतालका प्रमुख सञ्चालन अधिकृत बि.क. ले विश्वास व्यक्त गर्नुभयो।




