७७ जिल्लाका २ हजार भन्दा बढी यातायात व्यवसायी आइतबारदेखि पोखरामा भेला हुने (भिडियो सहित), होटल आवासमा २५ प्रतिशत छुट

-


     पोखरा क्लिक     
     वैशाख २५ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २५ वैशाख,

नेपालभरका यातायात व्यवसायी आइतबारदेखि पोखरामा भेला हुने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशनमा सहभागी हुन ७७ जिल्लाबाट २ हजारभन्दा बढी यातायात व्यवसायी, प्रतिनिधि तथा पर्यवेक्षक पोखरा आउने भएका हुन् ।

महासंघले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै वैशाख २७ देखि २९ गतेसम्म पोखरा इभेन्ट सेन्टरमा महाधिवेशन आयोजना हुने जानकारी गराएको हो । यात्रुबाहक तथा मालवाहक सवारी साधनसँग सम्बन्धित संघ, समिति, कम्पनी, प्रालि, पर्यटन तथा सहकारी क्षेत्रका ३८७ सदस्य संस्थाबाट प्रतिनिधिहरू सहभागी हुने भएको महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले बताउनु भयो । महाधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम तय भएको महासंघका केन्द्रीय सदस्य केशव अधिकारीले जानकारी दिनुभयो । पहिलो दिन उद्घाटन सत्र, दोस्रो दिन बन्दसत्र तथा अन्तिम दिन नयाँ नेतृत्व चयन प्रक्रिया सञ्चालन हुनेछ । महाधिवेशनलाई लक्षित गर्दै होटल संघ पोखरा नेपालले सहभागी व्यवसायीका लागि होटल आवासमा २५ प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ । महासंघका अनुसार पोखराको पर्यटन प्रवद्र्धनसँगै व्यवसायीलाई सहज आवास व्यवस्थापन गर्ने उद्देश्यले छुटको व्यवस्था गरिएको हो ।

महाधिवेशनबाट नयाँ नीति तथा नयाँ नेतृत्व चयन गरिने महासंघका सचिव भानुभक्त बरालले बताउनु भयो । अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्षद्वय सरोज सिटौला र हरिशरण केसी आकांक्षी देखिनु भएको छ । अर्का वरिष्ठ उपाध्यक्ष ऐनकुमार शाही पुनः सोही पदमा दोहोरिने तयारीमा हुनुहुन्छ भने गण्डकी प्रदेश संयोजक केदार पौडेल पनि वरिष्ठ उपाध्यक्षका दाबेदारको रुपमा रहनु भएको छ । यस्तै, गण्डकी प्रदेश सचिव योगेन्द्रबहादुर केसीले उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गर्नु भएको छ । वर्तमान केन्द्रीय सचिव भानुभक्त बरालले उपमहासचिवमा दाबी गर्नु हुने भएको छ ।

वरिष्ठ उपाध्यक्ष ऐनकुमार शाहीले महाधिवेशनले व्यवसायिक र सक्षम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभयो । व्यवसायिकता, व्यवसायिक एकता तथा स्वचालित भाडा समायोजन महाधिवेशनका मुख्य एजेण्डा बनाइने उहाँले जनाउनु भयो । सरकारले समयानुकूल स्वचालित भाडा समायोजन नगर्दा यातायात व्यवसायी मारमा परेको उल्लेख गर्दै उहाँले यस विषयमा साझा धारणा निर्माण गरिने बताउनु भयो । “यातायात क्षेत्रलाई मर्यादित, व्यवस्थित र व्यवसायिक बनाउनु नै हाम्रो मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो ।