
दीननाथ बराल,
पोखरा, वैशाख २४
पोखरा १७ डेभिड फल्समा रहेको एक कपडा पसलमा आज विहान आगलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । पोखरा–७ रत्नचोक निवासी ५८ वर्षीय शिवप्रसाद श्रेष्ठले सञ्चालन गर्दै आएको “ह्याण्ड क्राफ्टेड गार्मेन्ट” नामक कपडा पसलका दुई वटा सटरमा रहेका लत्ताकपडा, कस्मेटिक तथा अन्य सामग्री जलेर नष्ट हुदा करिब ५० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आज बिहान करिब १ः३० बजे अचानक आगलागी भएको हुन सक्ने वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नवराज ढुंगानाले जानकारी दिनुभयो । पसलमा आगो लागेको खबर प्राप्त हुन साथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक मुकुन्द सिग्देलको कमाण्डमा १० जनाको टोली खटिएको थियो । दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ३ः१४ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको डिएसपी ढुंगानाले जनाउनु भयो ।
हालसम्म आगलागीको कारण खुलेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । पसल सञ्चालक श्रेष्ठ विहान करिब २ः१५ बजे घटनास्थल पुग्दा प्रहरी, स्थानीयवासी र दमकलको टोली आगो नियन्त्रण गर्ने प्रयासमा जुटिरहेको थियो । बिद्युत सर्ट भएर आगो लागि भएको हुन सक्ने स्थानियले बताउनु भएको छ । उत्तः पसलसंगै अन्य सटरहरु पनि रहेकोले छेउ छेउका सटरमा सामान क्षति पुगेको छ भने उक्त आगोलागीका कारण धुवा र धुलो केही भाग संगै रहेका सटरमा समेत पुगेको थियो ।




