
दीननाथ बराल,
पोखरा, १५ वैशाख,
गण्डकी प्रदेशमा बक्सिङ खेलका विभिन्न गतिविधि हुने भएका छन् । प्रदेश बक्सिङ सङ्घको आज (मंगलबार) पोखराको लेकसाइडस्थित माउन्ट कैलास रिसोर्टमा सम्पन्न सङ्घको दोस्रो साधारण सभाले यस खेलको विकास र प्रबद्र्धन गर्न विभिन्न गतिविधि गर्ने निर्णय गरेको संघ गण्डकीका अध्यक्ष बिद्या प्रसाद मर्सानीले बताउनु भयो ।

केही समय पश्चात प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता तथा यू–१९ अन्तर विद्यालयस्तरीय बक्सिङ प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको उहाँले जनाउदै खेलाडी उत्पादन र दक्षता अभिवृद्धिका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिने उल्लेख गर्नुभयो ।

यसैबिच, उक्त कार्यक्रमको उद्घाटन गर्दै पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापाले नेपालमा बक्सिङ खेलमा उल्लेख्य पदक जित्ने सम्भावना रहेको औंल्याउनुभयो। उहाँले सेनापति कपअन्तर्गतको बक्सिङ प्रतियोगिता यस वर्ष पनि पोखरामा आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । प्रदेश खेलकुद परिषद्का सदस्य तथा भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले पोखरामा बढ्दो खेलकुद गतिविधिले खेल पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने बताउनुभयो। उहाँले खेलकुदलाई पर्यटनसँग जोड्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल बक्सिङ सङ्घका केन्द्रीय उपाध्यक्ष गणेशबहादुर भट्टराईले खेलाडीहरूलाई भविष्यप्रति आश्वस्त बनाउन स्पष्ट र दीर्घकालीन खेलकुद नीति आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
सङ्घका अध्यक्ष विद्या मर्सानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष नरेशबहादुर भट्टराईले पोखरामा बक्सिङ खेलको विकास र प्रवद्र्धनका लागि विविध कार्यक्रम ल्याइने योजना रहेको बताउनुभयो । यसैबीच, गण्डकी प्रदेश बक्सिङ सङ्घको कार्यसमितिमा केही हेरफेर गरिएको छ । यसअघि सचिव रहेका भरत पराजुलीलाई महासचिवमा पदोन्नति गरिएको छ भने सुदिप ढकाललाई नयाँ सचिव चयन गरिएको छ । अन्य सदस्यमा दिलिपकुमार श्रेष्ठ (कास्की), विरेन्द्र कार्की (नवलपुर) राजकुमार श्रेष्ठ (कास्की) र दीननाथ बराल सहित चार जना नयाँ सदस्य मनोनयन गरिएको सङ्घले जनाएको छ ।
उक्त अवसरमा कास्कीका खेल पत्रकार केशव पाठक र बक्सिङ खेलका प्रशिक्षक लोक बहादुर गुरुङलाई सम्मान गरिएको थियो ।




