पोखरामा आधुनिक प्रविधिसहित पोखरा सभागृह अब पुनःनिर्माण हुने तयारीमा

-


     पोखरा क्लिक     
     वैशाख १२ गते २०८३ मा प्रकाशित


पोखरा, वैशाख १२,

करिब चार दशकअघि २०४४ सालमा निर्माण गरिएको पोखरा सभागृह अब आधुनिक प्रविधिसहित पुनःनिर्माण हुने भएको छ। जीर्ण अवस्थामा पुगेको यस ऐतिहासिक संरचनालाई करिब २९ करोड रुपैयाँको लागतमा रेट्रोफिटसहित नयाँ स्वरूप दिइने तयारी गरिएको हो।

पोखरा महानगरपालिकाले परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ भने छिट्टै टेण्डर प्रक्रियामा जाने योजना बनाएको छ। मेयर धनराज आचार्यका अनुसार नगर विकास कोष र महानगरपालिकाको साझेदारीमा लगानी गरिनेछ, जसमा सहुलियतपूर्ण ऋणसमेत प्रयोग गरिनेछ । नयाँ डिजाइनअनुसार सभागृहमा अन्डरग्राउन्ड पार्किङको सुविधा हुनेछ, जहाँ ७२ वटा कार र ८० वटा मोटरसाइकल अट्नेछन् । एकैपटक ८० जनाले प्रयोग गर्न सक्ने आधुनिक शौचालय, प्रदर्शनी कक्ष, सानो हल तथा किचेन निर्माण गरिनेछ । दक्षिणतर्फ क्यान्टिन र डाइनिङ हल रहनेछ भने न्यूरोडतर्फबाट भित्र–बाहिर दुवैतर्फ प्रयोग गर्न मिल्ने चमेना गृह पनि रहनेछ ।

इन्जिनियर नेत्र तिमिल्सिनाका अनुसार सभागृहको तल्लो संरचना अझै मजबुत रहेकाले माथिल्लो भाग मात्र रेट्रोफिट गर्दा आगामी ४०५० वर्षसम्म सुरक्षित रूपमा सञ्चालन गर्न सकिनेछ। पुनर्निर्माणपछि सभागृहको क्षमता करिब १ हजार सिटको हुनेछ, जहाँ अन्तर्राष्ट्रिय मापदण्डअनुसार आरामदायी सिटहरू जडान गरिनेछ। डिजाइनमा पोखराको स्थानीय ढुंगाको प्रयोग गरिनेछ भने संरचनामा माछापुच्छ्रे हिमालको आकृति झल्किने गरी परम्परागत र आधुनिक शैलीको संयोजन गरिनेछ। महानगरपालिकाले आगामी तीन महिनाभित्र टेण्डर प्रक्रिया सम्पन्न गरी करिब एकदेखि डेढ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य राखेको छ। पुनर्निर्माणपछि कफी सप, क्यान्टिन, डाइनिङ लगायतका सेवामार्फत सभागृहले आफ्नै सञ्चालन खर्च धान्ने अपेक्षा गरिएको छ। यो पुनर्निर्माणले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम आयोजना गर्न सक्षम आधुनिक सभागृह प्रदान गर्ने विश्वास गरिएको छ।