
दीननाथ बराल ,
पोखरा ९, वैशाख ,
पोखरा महानगरपालिका–६, लेकसाइड क्षेत्रमा सडक सुरक्षालाई ध्यानमा राख्दै फुटपाथ अतिक्रमण र अव्यवस्थित पार्किङ नियन्त्रणका लागि सक्रिय कदम चालिएको छ। व्यापारिक प्रयोजनका सामग्रीहरू सडक पेटीमा राख्दा तथा जथाभावी सवारी पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको निष्कर्षपछि सम्बन्धित निकायहरूले संयुक्त रूपमा यस्तो कार्य थालेका हुन्।

पोखरा ६ का वडाध्यक्ष बिष्णुबहादुर भट्टराईको नेतृत्वमा, सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष ठकुर प्रसाद बराल, नगर प्रहरी तथा अन्य सरोकारवाला संस्थाहरूको सहभागितामा लेकसाइड क्षेत्रमा अनुगमन गरी अतिक्रमित फुटपाथ खाली गराइएको छ। टोलीले तत्कालै फुटपाथमा गरिँदै आएको व्यापार हटाउन र आगामी दिनमा यस्ता गतिविधि नगर्न आग्रह गर्दै सूचना जारी गरेको छ।
अनुगमनका क्रममा सडक पेटी तथा फुटपाथमा व्यापार नगर्न, सार्वजनिक स्थल अतिक्रमण नगर्न र सवारीसाधन व्यवस्थित रूपमा पार्किङ गर्न अनुरोध गरिएको छ। साथै, कानुनी व्यवस्थाको पालना गर्न र विधिको शासनप्रति प्रतिबद्ध रहन स्थानीय व्यवसायी तथा सर्वसाधारणलाई सचेत गराइएको छ । यस अभियानले लेकसाइड क्षेत्रलाई सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । पहिलो चरणमा सूचना जारी गर्दै सचेत गराइएको पुनः अर्को पटक फुटपाथ अतिक्रमण गर्ने उपर कार्वाही हुने वडाध्यक्ष भट्टराईले चेतावनी दिनुभयो ।



