
पोखरा ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कूलमा पूर्व आधारभूत तहका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ ।विद्यालयले शनिबार एक समारोहकाबीच पूर्व आधारभूत तह (यूकेजी) का ५४ जना विद्यार्थीलाई दीक्षित गरेको हो । यस्तै, विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ९ सम्मका उत्कृष्ट विद्यार्थीलाई शैक्षिक पुरस्कार पनि वितरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका, शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिलाई मुक्तकण्ठले प्रशंसा गरे । भण्डारीले पोखरा महानगरका सयौं विद्यालयमध्ये शान्ति निकेतन स्कूल नतिजाका आधारमा टप टेन स्कूलभित्र रहेको उल्लेख गरे । भौतिक पूर्वाधारको सुविधासहित गुणस्तरीय शिक्षाका लगि शान्ति निकेतन अघि बढेकोमा उनले शुभकामना दिए । विद्यालयका संस्थापक प्राचार्य डा। महेश्वर पराजुलीले अभिभावकहरुसँग विद्यालयको प्रगतिको खुशी साट्दै आगामी योजनाबारे जानकारी गराए । २०६२ सालमा स्थापित स्कूलले २० वर्षे शैक्षिक यात्रामा गर्व गर्न लायक उपलब्धि हासिल गरिसकेको प्राचार्य पराजुली बताए ।
डा। पराजुलीले भने – ‘स्थानीय र राष्ट्रिय परीक्षाको नतिजा विश्लेषणमा पटक पटक सर्वोत्कृष्ट विद्यालय भई पुरस्कृत भइसकेको छ । एसइई परीक्षामा पटक पटक जिल्लामा उत्कृष्ट स्थानसहित ४ जिपिए हासिल गर्ने विद्यार्थीसमेत शान्ति निकेतनले उत्पादन गरिरहेको छ ।’ एकलधारामार्गमा अवस्थित यो विद्यालय अब ६० करोड बजार मूल्य बराबरको जग्गामा १५ करोड लागतमा अत्याधुनिक सुविधासम्पन्न भवन बनाएर धारापानी मार्गमा विस्तार गर्न लागेको पनि उनले बताए । आगामी वैशाखदेखि नयाँ भवन प्रयोग गरिने र १२ कक्षासम्म विस्तार हुने पनि उनले बताए । अभिभावकहरुलाई थप सेवा सुविधाको सुविधासँगै शुल्क धेरै लाग्ने हो कि रु भनेर चिन्ता नलिन पनि उनले अनुरोध गरे ।
कार्यक्रमको अध्यक्षतासमेत गरेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमणि भुर्त्यालले प्राचार्य र शिक्षकहरुको लगाव र विद्यार्थीको मेहनतले हाँसिल गरेको विद्यालयको शैक्षिक उपलब्धिमा सन्तुष्ट रहेको बताए । कार्यक्रमको सञ्चालन परीक्षा विभाग प्रमुख हेम सुवेदीले गरेका थिए । विद्यालयमा सर्वोत्कृष्ट विद्यार्थीहरू तथा शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो ।



