
दीननाथ बराल,
पोखरा १३, चैत,
पोखरा महानगरपालिका २७ (लेखनाथ) मा यही चैत महिनाको अन्तिम साता तेस्रो संस्करणको ‘सूर्य तारा खेलकुद तथा सांस्कृतिक महोत्सव’ हुने भएको छ । पोखरा २७ को सूर्य तारा क्लबको आयोजनामा यही चैत्र २७ गतेदेखि ३० गतेसम्म उक्त महोत्सव हुने भएको आज (शुक्रबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
महोत्सवलाई आकर्षक र सहभागितामूलक बनाउन विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको प्रतियोगिता मुल समारोह समितिका संयोजक विष्णु पुनले बताउनु भयो । महोत्सवका मुख्य आकर्षणहरूमा सेभेन ए साइड फुटबल प्रतियोगिता, राष्ट्रिय खुल्ला महिला तथा पुरुष डोरीतान प्रतियोगिता, खुल्ला ‘स्लो’ महिला स्कुटर रेस, ७ किलोमिटर दौड तथा जातीय संघ–संस्थाको झाँकी प्रदर्शनी लगायतका कार्यक्रम रहेको उहाँले बताउनु भयो । महोत्सव सम्पन्न गर्न करिब ५७ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको संयोजक पुनले जनाउनु भयो । विगतका दुई संस्करणमा करिब १९ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको उल्लेख गर्दै उहाँले यसपटक खर्च व्यवस्थापनसँगै केही रकम बचत गरी ऋण घटाउने लक्ष्य रहेको स्पष्ट पार्नुभयो । यसैबीच, गण्डकी प्रदेशबाट राष्ट्रिय महिला फुटबलमा प्रतिनिधित्व गर्दै आएको ‘आर एस बीच क्लब’लाई प्रोत्साहनस्वरूप ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
सेभेन ए साइड फुटबल प्रतियोगितामा विजेताले २ लाख २ हजार २२२ रुपैयाँ तथा उपविजेताले १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। खर्च व्यवस्थापनलाई ध्यानमा राख्दै यसपटक परम्परागत फुटबलको सट्टा सेभेन ए साइड प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष समेत रहनु भएको संयोजक पुनले बताउनु भयो । त्यसैगरी, डोरी तान प्रतियोगितामा विजेताले ५५ हजार ५५५ रुपैयाँ, उपविजेताले ३३ हजार ३३३ रुपैयाँ र तेस्रो हुने टोलीले २२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन्। ‘स्लो’ महिला स्कुटर रेसमा पहिलोदेखि चौथो स्थानसम्मका प्रतिस्पर्धीले क्रमशः ३३ हजार, २२ हजार, ११ हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
महोत्सवअन्तर्गत छात्र–छात्रा, खुल्ला पुरुष–महिला तथा भेट्रान समूहका लागि ७ किलोमिटर दौड प्रतियोगिता पनि आयोजना गरिनेछ। छात्र–छात्रातर्फ विजेताले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने खुल्ला तथा भेट्रानतर्फ क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ प्रदान गरिनेछ। त्यसैगरी, जातीय संघ–संस्थाको झाँकी प्रदर्शनीमा उत्कृष्ट तीन समूहलाई क्रमशः ४४ हजार, ३३ हजार र २२ हजार रुपैयाँसहित सम्मान गरिनेछ। खेल, संस्कृति र मनोरञ्जनलाई एउटै थलोमा जोड्ने उद्देश्य सहित आयोजना हुने यस महोत्सवले स्थानीय प्रतिभा उजागर गर्नुका साथै सामाजिक एकता र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ । आगामी पाँचौं संस्करणसम्म यसलाई ‘गोल्ड कप’ फुटबल प्रतियोगिताका रूपमा विकास गर्ने लक्ष्य समेत राखिएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।महोत्सवका विभिन्न कार्यक्रम सञ्चालनका लागि छुट्टाछुट्टै उपसमितिहरू गठन गरिएको छ भने सबै तयारी तीव्र रूपमा अघि बढाइएको सेभेन ए साइड फुटवल खेल संयोजक संदिप कोइरालाले बताउनु भयो ।



