पोखराको प्याराग्लाईडिङ देखि अन्तराष्ट्रिय हवाई उडानको बिषयमा छिट्टै निर्णय लिने क्यानका नि.महानिर्देशक कर्णको भनाई (भिडियो सहित)

-


     पोखरा क्लिक     
     चैत्र ८ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ८ चैत,

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले पोखराको प्याराग्लाइडिङ गतिविधिलाई विस्थापित नगरी व्यवस्थित र सुरक्षित ढंगले सञ्चालन गरिने बताउनु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) द्वारा आयोजित २१औं खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको शनिबार बेलुका पोखरामा सम्पन्न भएको समापन समारोहमा बोल्दै उहाँले पोखरेलीलाई अब हवाई उडान सम्बन्धी विषयमा चिन्ता नगर्न आग्रह गर्दै प्याराग्लाईडिङलाई विस्थापित नगरी व्यवस्थित र सुरक्षित ढंगले सञ्चालन गरिने बताउनु भएको हो ।

पोखराको आकाशमा भइरहेको साहसिक खेल गतिविधिले अन्तर्राष्ट्रिय रूपमा नेपाल सुरक्षित र शान्त देश भएको सन्देश दिएको उहाँले उल्लेख गर्नुभयो । पूर्वी एसियाली क्षेत्रमा युद्धको प्रभाव देखिएको सन्दर्भमा पनि पोखरामा निरन्तर मनोरञ्जनात्मक हवाई गतिविधि सुरक्षितका साथ सञ्चालन हुनु सकारात्मक संकेत भएको नि.महानिर्देशक कर्णको भनाइ थियो । उहाँले भन्नुभयो, “उडानलाई सुरक्षित र व्यवस्थित बनाउनु नै हाम्रो पहिलो कर्तव्य हो। यस विषयमा आवश्यक प्राविधिक परामर्शपछि निर्णय लिन्छौं। तत्काल निर्णय लिन नसकिने केही अन्तर्राष्ट्रिय जटिलताहरू पनि छन्, तर पोखरेलीले चिन्ता लिनुपर्ने अवस्था छैन।” कर्णले भविष्यमा नेपालले ओलम्पिक स्तरसम्म सफलता हासिल गर्न सक्ने सम्भावना प्याराग्लाइडिङ खेलमा रहेको पनि बताउनुभयो।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखराको पर्यटन प्रवद्र्धनमा प्याराग्लाइडिङले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसलाई नियमनसहित व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने माग गर्नूभयो । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले साहसिक खेल पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यस्तो प्रतियोगिता नियमित रूपमा सञ्चालन हुनुपर्ने धारणा राख्नुभयो। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले प्याराग्लाइडिङ केवल खेल मात्र नभई क्षेत्रीय अर्थतन्त्रको मेरुदण्ड भएको दाबी गर्नुभयो। प्रतियोगितामा नेपालसहित भारत, चीन, फ्रान्स र जर्मनीका पाइलटहरूको सहभागिता रहेको थियो। प्रतियोगिता संयोजक सुनिल भट्टराईका अनुसार विदेशी खेलाडीहरू समेत पोखराको आकाशमा उडानप्रति अत्यन्त उत्साहित देखिएका थिए ।

चार वर्षपछि पुनः प्रतियोगिता आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीले यसले पर्यटन क्षेत्रलाई थप ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो। संस्थाका पूर्व अध्यक्ष तथा सेफ्टी डाइरेक्टर योगेश बहादुर भट्टराईले पोखरा विश्वकै सुरक्षित, आकर्षक र मनमोहक प्याराग्लाइडिङ गन्तव्यका रूपमा स्थापित भएको बताउनुभयो।पोखरा भ्रमण वर्ष २०२५÷०२६ का संयोजक गोपी बहादुर भट्टराईले विगतमा कोभिड–१९ जस्ता संकटका बेला पनि प्याराग्लाइडिङले पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न योगदान पु¥याएको स्मरण गर्दै यसलाई व्यवस्थित र नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। यसैबिच, उक्त प्रतियोगितामा विदेशी खेलाडीहरुको वर्चश्व रहेको नाले पोखराक्लिकलाई जनाएको छ ।