
दीननाथ बराल,
पोखरा, ७, चैत,
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा सम्पन्न २१औँ खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप–२०२६ को उपाधि भारतका अक्षय कुमार र चाइनाका झाउ चेनले जित्नु भएको छ । पोखराको सराङकोटबाट उडान गरी खपौदीमा निर्धारित बिन्दु नजिक पुग्दै समान ७ अंक सहित दुबै जनाले प्रथम स्थान हासिल गर्न सफल हुनु भएको हो ।
भारतका इमान रम्तेल ८ अंकका साथ तेश्रो हुनु भयो । नेपालका पवन परियार र अर्जुन जलारीले समान ११ अंक ल्याउदै प्रर्दशनका आधारमा परियार छैटौ र जलारी सातौं स्थानमा आउन सफल हुनु भएको हो । विहिबार र शुक्रबारको नतिजाको आधारमा आयोजक हवाई खेलकुद संस्था (ना) ले पोखराक्लिकलाई दिएको अंक तालिका अनुसार एक्यूरेसी महिला एकलतर्फ को विधामा चीनकी कोङ सियाङ यान प्रथम हुनु भयो ।

पाँच राउण्डसम्मको प्रतिस्पर्धामा उहाँले ७ अंकसहित प्रथम हुनु भएको हो । नेपालकी दुर्गा माया गुरुङ १२६ अंकसहित दोस्रो हुदा भारतकी श्रेयशी तामाङ १४९ अंकसहित तेस्रो हुनु भयो । त्यसैगरी, नेपालकी इस्का राई ३५४ अंकसहित चौथो स्थानमा रहँदा कृषु पौडेल ५२६ अंकसहित पाँचौँ स्थानमा रहनु भएको छ । महिला तर्फ १० जना खेलाडी बिच प्रतिष्प्रर्धा भएको प्राबिधिक बिमल अधिकारीले बताउनु भयो ।
त्यसै गरी नेपाली तर्फको विधामा पुरुषतर्फ पवन परियार र अरुण जलारी समान ११÷११ अंकका साथ पहिलो र रिखि पोडे १२ अंकका साथ तेश्रो हुनु भयो । महिलातर्फ १२६ अंकका साथ दुर्गा माया गुरुङ पहिलो, इशा राई ३५४ अंकका साथ दोस्रो र कृषु पौडेल ५२६ अंकका साथ तेस्रो हुनु भयो । त्यसै गरी गण्डकी प्रदेश स्तरियमा छनौट प्रतियोगिताबाट पवल परियार , अरुन जलारी र रिखि पौडेल छनौट हुनु भएको ना का महासचिव वलराम आचार्यले बताउनु भयो । त्यसै गरी महिला तर्फ गण्डकीको टिमको लागि दुर्गामाया गुरुङ र कृषु पौडेल छनौट हुनु भएको छ । छनौट भएका खेलाडीलाई जनही नगद १०÷१० हजारका साथमा मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । दशौं राष्ट्रिय प्रतियोगिताको लागि खेलाडी छनौट समेत भएको ना का प्रथम उपाध्यक्ष खेमराज आचार्यले जनाउनु भयो ।

प्रतियोगिता अन्तर्गत तेश्रो दिन शनिबार प्रतिकुल मौसम पानी परेका कारण शनिबारका खेलहरु स्थगित भएका थिए । शुक्रबार दिउसोदेखि परेको पानी शनिबार बिहान देखि दिउसो पनि परेकोले शनिबारका खेलहरु स्थगित भएको प्रतियोगिताका संयोजक सुनिल भट्टराईले बताउनु भयो । यस अघि दुई दिन भएको खेलको आधारमा त्यसको आधार मानि नतिजा सार्वजनिक गरिएको हो । एक्यूरेसी टिम इभेन्टतर्फ भारतीय मिक्स टीम (वर्कला) बिजयी भएको छ । ११ टोली सहभागी रहेको प्रतिस्पर्धामा ३८ अंक सहित राहुल राई, अक्षय कुमार, मोहन सिंह, मनिस उप्रेतीको समुह प्रथम भएको हो । इन्डो–नेपाल संयुक्त टोली ६७ अंकसहित दोस्रो हुन सफल भयो । टिम नेपाल १०९ अंकसहित तेस्रो भयो । सोनाम लद्दाखी, अरुण जलारी, कृष्ण बहादुर क्षेत्री र गोपाल ठाकुर दोश्रो हँुदा विष्णु तिमिल्सिना, सुमन जङ्ग थापा, रोशन बस्नेत र युवराज सुनुवार रहेको टिम तेश्रो हुनु भएको हो ।पाँच राउण्डका खेल सम्पन्न भएकोले त्यस पछि मौसम तथा हावाको अवस्थाले खेलमा प्रभाव पारेकोले त्यसका आधारमा नतिजा घोषणा गरिएको ना का अध्यक्ष अनिल केसीले बताउनु भयो । प्रतियोगितामा नेपाल, भारत, इटाली, जर्मनी र चीनका गरी ५ देशका ६२ खेलाडी सहभागी हुनुभयो । जसमा पुरुषतर्फ ५२ र महिलातर्फ १० जना सहभागि हुनु भएको हो ।

प्रतियोगितामा पुरुष व्यक्तिगततर्फ विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । समूहतर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगितालाई सफल पार्न आवश्यक सुरक्षा व्यबथा र खेलाडीहरुलाई सेटमा राम्रोसंग निर्देशन जारी गरिएको कारण सुरक्षित रुपमा प्रतियोगिता सम्पन्न भएको सेफ्टी डाइरेक्टर योगेश बहादुर भट्टराईले बताउनु भयो ।

बिजयी खेलाडीहरुलाई नेपाल नागरिक उडययन प्राधिकरणका महानिर्देशक देवचन्द्रलाल कर्ण, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणीराज लामिछाने, पोखरा भ्रमण बर्षका संयोजक गोपी बहादुर भट्टराई लगायतले नगद, मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । ना का अध्यक्ष अनिल केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । आगामी बर्ष क्रसकन्टी तर्फको विधा सहित प्रि—वल्र्ड कप समेत आयोजना गर्ने केसीले पोखराक्लिकलाई जनाउनु भयो ।




