
पोखरा, चैत ७,
सूर्य नेपाल वेस्टर्न ओपन प्रो एमको उपाधि प्रो सञ्जय लामाको टिमले १ सय ३९ अंक सहित जितेको छ। सञ्जयले ३४ अंक बनाउँदा एमेच्योर खेलाडीहरू सत्यजोत रानाले ३९, गीता गुरुङले ३५ र टेण्डी शेर्पाले ३१ अंक बनाए।
प्रो रवि खड्काको टिम १ सय २२ अंक सहित दोस्रो भयो। रविले ३० अंक बनाउँदा सोम गुरुङ र फुर्साङ लामाले समान ३१ तथा श्याम तामाङले ३० अंक जोडे। प्रो भुवन नगरकोटीको टिम १ सय १८ अंक सहित तेस्रो भएको छ। भुवनसँगै एमेच्योर खेलाडीहरू सुजन थापा र रञ्जन थापाले समान ३० तथा कमल सुबेदीले २८ अंक बनाए। महिलातर्फ उत्कृष्ट स्कोर गीता गुरुङले निकालिन्। उनले ३५ अंक जोडिन्। प्रतियोगितामा लङ्गेस्ट ड्राइभको उपाधि जय न्युगेन्ट र क्लोजेस्ट टु दी पिनको उपाधि सुबोध थापाले जिते। हिजो सम्पन्न सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भुवन नगरकोटीले जितेका थिए। उनले समग्रमा ३(अन्डर २ सय ४ को स्कोरमा सञ्जय लामालाई एक स्ट्रोकले हराउँदै उपाधिमा ह्याट्रिक गर्न सफल भएका थिए । सञ्जय लामा दोस्रो र एमेच्योर राहुल विश्वकर्मा तेस्रो स्थानमा रहे।
सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक खेलाडीहरीले कुल १० लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे। पहिलो भएका भुवनले १ लाख ७० हजार, दोस्रो भएका सञ्जयले १ लाख २५ हजार र प्रोतर्फ तेस्रो भएका शुक्र बहादुर राईले नगद १ लाख प्राप्त गरे। प्रो एमका विजयी खेलाडीहरुलाई नेपाल गल्फ संघका अध्यक्ष टासी घले, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा बिष्ट र कास्की जिल्ला गल्फ संघका उपाध्यक्ष भक्त राज गुरूङले पुरस्कार वितरण गरे। प्रो एममा ७५ जना एमेच्योर र १५ जना प्रोफेसनल गरी कुल ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।



